माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू, अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने
काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो । बैठकमा सरकारको काम-कारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम तय भएको छ । पार्टीभित्र उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई बनाउने तयारी छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री बनेपछि पार्टीका बाँकी काम अगाडि बढ्न नसकेकोले अरुलाई जिम्मेवारी दिनुपर्ने पार्टीभित्र बहस चलेको छ । आजको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
माओवादीले अग्नि सापकोटालाई उपाध्यक्ष बनाउने
नेकपा माओवादी केन्द्रले पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाउने भएको छ । सापकोटालाई उपाध्यक्ष बनाउनेगरी छलफल अघि बढेको एक स्थायी कमिटी सदस्यले बताए । ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । आजको स्थायी कमिटी बैठकले निर्णय गर्नसक्छ ।’
समसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न अहिले माओवादीको स्थायी कमिटी बैठक बस्दैछ । २१ पदाधिकारी रहेको माओवादीमा अहिले उपाध्यक्ष कृष्णबहादुर महरामात्रै छन् । महराको वरीयतापछि सापकोटालाई राख्ने तयारी छ । माओवादीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् ।
३६ महिनापछि पहिलो पटक पार्टी बैठकमा अग्नि सापकोटा
सभामुख निर्वाचित भएको ३ वर्षपछि नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटा पहिलो पटक पार्टी बैठकमा सहभागी भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा उनी सहभागी भएका हुन्। तीन वर्ष अघि ठ्याक्कै आजकै दिन अर्थात् १२ माघ २०७६ मा अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भएका थिए ।
माओवादीका प्रभावशाली नेता उनी सभामुखमा निर्वाचित भएसँगै पार्टीका सबै जिम्मेवारीबाट हटेका थिए । संयोग नै भन्नुपर्छ बिहीबार १२ माघमा उनी फेरि माओवादी केन्द्रको स्थायी समिति बैठकमा सहभागी भएका छन् । उनलाई उपाध्यक्ष बनाउने तयारी छ ।