प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मेवारी
काठमाडौँ — आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयलाई जिम्मेवारी दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । एक मन्त्रीले भने, ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पार्ने भनेको छ ।’
आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको ती मन्त्रीले जानकारी दिए ।
आत्मदाह गरेका आचार्यकी श्रीमतीले गृहमन्त्रीसँग राखिन् यस्ता माग
त्यस्तै आचार्यकोे परिवारलाई सहानुभूति प्रकट गर्न पुगेका उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेसामू उनीकी श्रीमतीले विभिन्न माग राखेकी छीन् ।
आचार्यकी श्रीमती नानुकाले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजगारी दिन र श्रीमान्ले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् । उनले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौं खर्च गर्नुपरेको बताइन् ।
मंगलवार संसद भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका आचार्यका परिवारलाई भेट्न बुधबार उपप्रधन तथा गृहमन्त्री कीर्तिपुर अस्पताल पुगेका हुन् । घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट वाक्क भएर केही गर्नका लागि आफू राजनीतिमा प्रवेश गरेको उनले बताएका थिए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताए । मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता उनले जनाए । उनले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए ।
गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।