हामी शासक होईन सेवक हौं : गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ
पोखरा, १० माघ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले जनता नै सर्वोपरि भएकोले जनताको काम बाहेक दाँयाबाँया गर्ने छुट कसैलाई नभएको बताएका छन् । उनले भने, म दत्तचित्त भएर आजैबाट काममा हिंडिसके ।
मन्त्री पदमा बहाली गर्दै मन्त्री गुरुङले भने- म पदमा बहाली भएको छु । मैले आफ्नो जिम्मेवारीमा रहेका कामहरु छिटोटरितो कसरी गर्न सकिन्छ त्यसैमा ध्यान दिन्छु दाँयाबाँया गर्ने छुट कसैलाई छैन र त्यसो गर्न पनि दिन्न । हामी शासक होईन सेवक हौं, मन्त्री गुरुङले भने, जनताले सानो दुःख पनि पाउनु हुँदैन, यदी त्यस्तो कहिंकतै देखियो भने त्यसमा छुट दिने अवश्था पनि हुँदैन ।
मेरो सोंच खर्चमा कटौती गर्ने रहेको छ । पहिलो कुरा त हामीमा सुशासनको खाँचो छ । मैले यसलाई मूल रुपमा लिएको छु, मन्त्री गुरुङले भने, सुशासन र पारदर्शिता अपरिहार्य आवश्यक्ता हो । म यसका लागि अडिग भएर लाग्नेछु । मन्त्री गुरुङले अब योजना बनाएर अघि बढ्न लागेको पनि सुनाए । हाम्रा कानूनहरु बनेका छन् तर तिनको सहि कार्यान्वयन भएको छैन । उनले भने, कानूनलाई कार्यान्वयनमा ल्याउने र काम भएको छ कि छैन भनेर अनुगमन र निगरानीका लागि म सचेत छु, मन्त्री गुरुङको भनाई थियो ।
हामीकहाँ सुक्ष्म रुपले अध्ययन गरेर काम गर्ने परिपाटी नभएकोले यसतर्फ आफ्नो ध्यानाकर्षण भएको उनले बताए । अब कागजी रुपमा मात्रै काम गर्ने र परिणाम नदिने यस्तो खालको प्रबृतिलाई बन्द गनुपर्छ । म परिणाममुखि काम गर्न सरकारमा गएको हुँ यसैमा लाग्छु ।
पद बहाली भए लगत्तै म मन्त्रालय तथा विभागका सबै निकायहरुसंग छलफल, बैठक र समन्वयका लागि केहि दिन लाग्छु । उनले भने, एक खालको रिपोर्ट आईसके पछि एक्सनमा जान्छु । किनभने म जनताको सेवा गर्छु भनेर आएको हुँ त्यहि काम गरेर देखाउछु, मन्त्री गुरुङको भनाई थियो ।
प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउने रस्साकस्सीले अलमलिएका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गुरुङलाई दिएका हुन् । यसअघि नेकपा एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छुट्टै बनाएका थिए । विना विभागीय मन्त्री बनेका गुरुङले मन्त्रालयको टुङ्गो हुनासाथ पदभार ग्रहण गरेका छन् । उनले मन्त्रालयको प्राङ्गणमा बिरुवा रोपेर पदभार ग्रहण गरेको गुरुङको सचिवालयले जनाएको छ । मन्त्री गुरुङले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिएका छन् । गुरुङ मन्त्रिपरिषद्मा चौथो वरियतामा छन् ।