स्याङ्जा हेलिकप्टर अवतरण घटनामा संलग्न चार्टर गर्ने र पिट्ने छ जना युवा पक्राउ

स्याङ्जा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खानुभएको थियो ।

क्यामरुन र वालिङ रातो खेलिरहेको अवस्थामा खेलको ४० औँ मिनेटमा एकाएक प्रभु एयरको हेलिकोप्टर खेल मैदानमा अवतरण भएको थियो ।

उड्डयन प्राधिकरणले अनुसन्धानका लागि पोखराबाट सेवा दिने प्रभु एयरका छ वटै हेलिकोप्टर उडानमा रोक लगाएको प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो । प्रभु एयरलाई के कसरी घटना भएको हो र कसको गल्ती हो भन्ने बारेमा लिखित स्पष्टीकरणका लागि माग गरिएको र सत्य तथ्य नआउँदासम्म हेलिकोप्टर चलाउन रोक लगाएको निरौलाले बताउनुभयो । उडानका लागि एयरपोर्ट र स्थानीय प्रशासनसँग अनुमति र शान्ति सुरक्षाको प्रत्याभूति भएपछि मात्र उडान तथा अवतरण गर्नुपर्नेमा सो नदेखिएको बताइएको छ ।

यस्तै, हेलिकोप्टर अवतरण गर्दा कुटाइ खाएका क्याप्टेन रनेश डङ्गोलले वडा प्रहरी कार्यालय वालिङमा चार्टर गर्ने र आफूलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गर्नुभएको छ । डङ्गोलले हवाई उडान सुरक्षाविरुद्ध कसुर र अभद्र व्यवहार मुद्दा दर्ता गराएर कारबाहीको माग गर्नुभएको हो ।

क्याप्टेनको उजुरीसँगै प्रहरीले हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

पक्राउ परेका छ जनालाई म्याद थपेर अनुसन्धान अगाडि बढाएको र भिडियोमा पहिचान गरी थपलाई पक्राउ गरिने सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले बताउनुभयो ।

पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ

स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले चार जना यात्रु र २ जना कुटपिटमा संलग्नलाई पक्राउ गरेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए । माघ ५ गते दिउँसो साढे २ बजे वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण भएको थियो । पाइलट रानेश डंगोलले चलाएको उक्त हेलिकप्टरमा चार जना सवार थिए ।

खेल भइरहँदा नै पाइलटले मैदानमा ल्याण्ड गरेपछि केहीबेर तनाव भएको थियो । पाइलटमाथि हातपात समेत भएको थियो । उक्त हेलिकप्टरमा विनोद गैह्रे, उज्जवल थापा, सुशिल गिरी र खिमबहादुर राना सवार थिए । उनीहरूले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले उनीहरू चारै जनालाई पक्राउ गरेको हो । यस्तै, आयोजकतर्फका यामबहादुर गुरूङ र सुरेश श्रेष्ठले कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको हुन ।

उनीहरूलाई प्रहरीले सोमबार पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ । प्रहरीका अनुसार हेलिकप्टरले पनि प्रशासनसँग कुनै अनुमति लिएका थिएनन् ।