स्पट र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

काठमाडौँ — नेपाल टी-२० लिगमा स्पट फिक्सिङ र म्याच फिक्सिङ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको जनाएको छ । नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र दाबी गर्दै आएको छ ।

पुस ९ देखि २७ सम्म भएको खेलमा म्याच फिक्सिङ भएको कुरा आएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको संयोजकत्वममा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले अनुसन्धान अन्तिम चरणमा पुर्‍याउँदै स्पट फिक्सिङ भएको प्रमाण र आधारहरु भेटेपछि त्यसमा संलग्नताको आशंकामा दुई क्रिकेटर पक्राउ गरेको हो ।

म्याच फिक्सिङमा पुरै हारजित हुने गरी सट्टेबाजी हुने गर्छ । स्पट फिक्सिङमा यति रनमा आउट हुने/नहुने, व्यक्तिले यति बलमा यति रन गर्छु, बलरले यति ओभरको यति बलमा लुज बल गर्ने आदिलगायतका विषयमा सेटिङ भएको हुन्छ । त्यसैको आधारमा हुने सट्टेबाजी अनि पैसामा दाउ लगाउने गरिन्छ ।

जब सन्दीप अचानक टियु ग्राउन्डमा देखिए

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमा रहेका क्रिकेटर सन्दीप लामिछाने गत साता टियुको क्रिकेट ग्राउन्डमा देखिए । उनले त्यहाँ बलिङ र ब्याटिङ गरेका तस्बिरहरू सामाजिक सञ्जालमा आएका छन् ।

जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सन्दीप केही दिन अगाडि मात्रै पाटन उच्च अदालतको आदेशमा २० लाख धरौटीमा रिहा भएका थिए । तर, क्यानले उनीमाथि लगाएको निलम्बन फुकुवा गरेको छैन । उनको निलम्बन फुकुवा गरी राष्ट्रिय टिममा फर्काउनबारे क्यान अनिर्णीत छ । सन्दीप चाहिँ अदालतले आफूलाई क्रिकेट खोल्न नरोकेको भन्दै तत्काल पुनरागमन गर्न पाउनुपर्ने पक्षमा छन् ।

यता, क्यानले आगामी महिना हुने आइसीसी विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षणको तयारी गरिरहँदा सन्दीप मैदानमा देखिएका थिए । त्यसैले क्रिकेट प्रेमीहरुबीच उनी पनि बन्द प्रशिक्षणमा समावेश हुने अनुमान तीव्र बनेको छ । यद्यपि, त्यसको भोलिपल्टबाट सन्दीप फेरि मैदानमा आएका छैनन् । उसो भए एक दिनका लागि मात्रै सन्दीप किन अभ्यास गर्न पुगे त ?

यस विषयमा हामीले बुझ्दा गत बिहीबार सन्दीप अभ्यास गर्नकै लागि क्यानका अध्यक्ष चतुर बहादुर चन्दसँग समेत सल्लाह गरेर मैदान पुगेका थिए । तर, त्यहाँ उनले सिनियर खेलाडीहरूसँग भने अभ्यास गर्न भने पाएनन् । उनी मैदानमा पुग्दा यू–१९ र सिनियर टिमको ‘प्राक्टिस म्याच’ भइरहेको थियो । त्यसबेला यू–१९ टिमका केही खेलाडी नेटमा प्राक्टिस गरिरहेका थिए । क्रिकेटको तिर्खा लागेका सन्दीपले आग्रह गरेपछि उनलाई केही बल फ्याँक्न दिइएको एक ग्राउन्ड स्टाफले बताएका छन् ।

‘उहाँले दुई चार बल फ्याँक्नुभयो र केहीबेर ब्याट पनि चलाउनु भयो,’ ती स्टाफले भने, ‘त्यसपछि भने अहिलेसम्म आउनुभएको छैन ।’

स्रोतका अनुसार त्यही दिन क्यानका अध्यक्ष चन्दले सन्दीपलाई भेटेका थिए । त्यसबेला टिममा पुनरागमनका विषयमा छलफल भएको थियो । तर, अध्यक्ष चन्दले ठोस जवाफ दिन सकेनन् । त्यसले सन्दीप अलिक निराश भएर फर्किए । लगत्तै उनले आफ्नो ट्विटरमा बायो परिवर्तन गर्दै ‘एन्ड दी स्टोरी इन्ड्स हियर’ (कथा यहाँ अन्त्य हुन्छ) लेखेका थिए । सो बायोले सन्दीप क्रिकेटबाट सधैँका लागि पलायन हुने मनस्थितिमा पुगेका हुन् कि भनेर फ्यानहरू चिन्तामा छन् ।

क्यान अध्यक्ष भन्छन्- निर्णय लिएका छैनौँ

नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई बन्द प्रशिक्षणमा समावेश गर्ने वा नगर्नेबारे निर्णय लिई नसकेको बताए । खेलकुद परिषद् लगायतका सरोकारवाला निकायहरूसँग आफूहरूले राय लिइरहेको उनको भनाइ छ ।

‘तत्काल खेल्न पाउने वा नपाउने विषयमा दुई किसिमका कुराहरू आइरहेका छन् । हामी कानूनी परामर्शमै छौँ,’ उनले भने । नेपालले फेब्रुअरीमा खेल्ने त्रिकोणात्मक सिरिजका लागि एक–दुई दिनमा टिम घोषणा गर्ने उनले बताए । त्यसअघि राष्ट्रिय टिमको प्रमुख प्रशिक्षक नियुक्त गरिने छ ।