चर्चित ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको आठ सहरमा कन्सर्ट गर्ने

लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ । यसअघि सन् २०१९ मा नेपथ्यले आफ्नो शृंखलाबद्ध प्रस्तुतिसहित अष्ट्रेलियाको छ सहरमा सांगीतिक यात्रा गरेको थियो । यसपटकको यात्रामा भने नेपथ्यले आठ सहरमा आफ्नो प्रस्तुति दिने भएको छ ।

‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियानमा नेपथ्यले हालै मात्र एक महिना देशव्यापी यात्रा सम्पन्न गरेको थियो । नेपथ्यले ‘मानवसेवा आश्रम’ सँगको सहकार्यमा सातै प्रदेशका दश सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो । ‘सोही यात्राको प्रतिक्रियाबाट प्रेरित भएर हामीले सन् २०२३ का सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ को नारासहित मानवता प्रवद्र्धन अभियानको शृंखलाको रुपमा प्रस्तुत गर्ने विचार गरेका छौँ,’ गायक अमृत गुरुङले भने ।

अष्ट्रेलियाको डार्बिनस्थित ‘इन्टरटेनमेन्ट सेन्टर’ मा माघ ११ गतेदेखि कन्सर्ट सुरू हुनेछ। त्यसपछि नेपथ्यले एडिलेडस्थित ‘हिण्डले म्यूजिक हल’ मा माघ १४ गते, ब्रिसबेनको ‘फोर्टिच्यूड म्यूजिक हल’ मा माघ १७ गते, क्यानबेरास्थित ‘म्येनिङ क्लार्क हल’ मा माघ २० गते, पर्थस्थित ‘मेट्रो सिटी हल’ मा माघ २२ गते, सिड्नीस्थित ‘होडर्न प्याभेलियन’ मा माघ २७ गते, मेलबर्नस्थित ‘फोरम मेलबर्न हल’ मा फागुन १ गते, होबार्टस्थित ‘ओडियन थिएटर’ मा फागुन ५ गते प्रस्तुति दिनेछ ।

नेपथ्यको छ जना संगीतकर्मीसहित प्राविधिक एवम् व्यवस्थापन गरेर १३ सदस्यीय टोली माघ ६ गते अष्ट्रेलिया जानेछन्। पूर्वनिर्धारित आठ वटा कार्यक्रम प्रस्तुत गरेर फागुन ८ गते टोली नेपाल फर्किने छन् । गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले साथ दिने छन् ।