सत्तागठबन्धनको तर्फबाट सभामुख पदमा एमाले सांसद देबरज घिमिरेले उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।

सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ । सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची छ ।

माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।

सभामुखमा उम्मेदवारी दिएपछि घिमिरेले भने- ‘प्रतिनिधिसभा निष्पक्ष ढंगले सञ्चालन गर्छु’

काठमाडौँ — नेकपा एमालेको प्रस्तावमा सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले प्रतिनिधिसभालाई निष्पक्ष ढंगबाट सञ्चालन गर्ने बताएका छन् । उम्मेदवारी दिएपछि बुधबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभामुखले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी हुन नदिने उल्लेख गरे ।

‘म जिम्मेवारीमा पुग्ने निश्चित छ । हिजोका शिक्षाबाट अघि बढ्छु । तटस्थ रहेर चलाउँछु‚’ उनले भने, ‘प्रतिनिधिसभाबाट विजय भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ‚ त्यो भूमिकामा कम रहन दिन्न ।’ घिमिरले बुधबार संसद् सचिवालयमा उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

झापा-२ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे ०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य छन् ।