२० लाख धरौटी बुझाएर ९९ दिनपछि सन्दीप लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थुनामुक्त हुनुभएको छ । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले सन्दीप थुनामुक्त भएको जानकारी दिनुभयो । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका निलम्बित कप्तान सन्दीपलाई बिहीबार २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको हो । सोही आदेशअनुसार सन्दीपले आज (शुक्रबार) दिउँसो २० लाख धरौटी बुझाएसँगै थुनामुक्त हुनुभएको जानकारी सूचना अधिकारी दाहालले दिनुभयो । थुनामुक्त गर्न केन्द्रीय कारागारबाट सन्दीपलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।

हिजो उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले सन्दीपलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । थुनामुक्त भएका सन्दीपले अब काठमाडौं उपत्यकाबाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ । साथै पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीपविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । सन्दीपका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । सन्दीपमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको थियो । सन्दीपले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिनुभएको थियो । सन्दीपलाई गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

स्मरण रहोस्- मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिकासँग सहमतिमै शारीरिक सम्बन्ध राखेको खण्डमा पनि बलात्कार मानिन्छ । ऐनको परिच्छेद १८ मा ‘करणीसम्बन्धी कसुर’ को व्यवस्था छ । दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिईकन करणी गरेमा वा मन्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरकी कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ’ भन्ने लेखिएको छ ।

सन्दीप लामिछानेले छोटो प्रतिक्रिया

केन्द्रीय कारागार सुन्धाराबाट ९९ दिनमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेले छोटो प्रतिक्रिया दिएका छन् । कारागार परिसरबाहिर केहीबेर समर्थकसँग खुसी साटेर उनी बुवाआमासँग कारमा घरतिर लागेका हुन् । सन्दीपलाई लिन उनले नै यसअघि चढ्दै आएको ग३च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका थिए । पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरबाट खुसी मुद्रामा निस्किएका थिए ।