आलोचना र विवादमै सकियो नेपाल टी२० लिग

क्यानको नेतृत्वमाथि विश्वासको संकट

अधिकांश प्रतियोगिताले देशभित्रको खेलकुद विकासका क्रममा केही न केही योगदान दिन्छन् । त्यसमध्येका केही प्रतियोगिता खेलकुद विकासमा कोशेढुंगाका रुपमा स्थापित हुन्छन् । नेपाली क्रिकेटमा विगतमा आयोजना हुने गरेका फ्रेन्चाइज लिग (ईपीएल, डीपीएल र पीपीएल)ले बेग्लै पहिचान बनाएका थिए । घरेलु क्रिकेटलाई व्यावसायिक बनाउने क्रममा ती लिगले अलग पहिचान समेत बनाएका थिए । ईपीएल काठमाडौंमा, डीपीएल धनगढीमा र पीपीएल पोखरामा आयोजना हुँदा व्यावसायिक क्रिकेटको विकाससँगै सहरको पहिचानसँग पनि जोडिएको थियो ।

ती स्थापित फ्रेन्चाइज लिगलाई आयोजनाको स्वीकृति नदिएर क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)ले आफैँ फ्रेन्चाइज लिग आयोजना गर्ने निर्णय लिएको थियो । एउटा देशमा एउटा मात्र लिग हुनुपर्छ भन्ने तर्कका साथ नेपाल टी२० लिगको घोषणा भएको थियो । तर, दुर्भाग्य नै भन्नुपर्छ क्यानले घोषणा गरेदेखि नै नेपाल टी२० लिग आयोजना हुनेमा शंका व्यक्त गरे। क्यानले त्यसको लगातार बचाउ गरिरह्यो ।कतिपयले क्यानलाई शंकाको लाभ दिनुपर्ने तर्क गरे । कार्यकारी निकाय आफैँले फ्रेन्चाइज लिग आयोजना गर्ने घोषणालाई शंकाको लाभ दिनु स्वाभाविक थियो । तर क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल र स्ट्राटेजिक पार्टनरका रुपमा अघि सार्यो । त्यसपछि भने अविश्वास बढ्ने क्रम सुरु भयो। भयो पनि त्यस्तै। पटक–पटक आयोजनाको मिति सरिरह्यो। त्यसले अविश्वासलाई थप मलजल गर्यो ।

जब आयोजना भयो नेपाल टी२० लिग विवादको भुमरीमा पर्दै जान थाल्यो । लिगका ६ मध्ये धेरैजसो क्लबले सम्झौताअनुरुप खेलाडीलाई रकम उपलब्ध नगराउनु, जसका कारण खेल नै समयमा सुरु हुन सकेन । पछि म्याच फिक्सिङ, स्पट फिक्सिङ, श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेलाइएको विषयले प्रवेश पायो। जसका कारण नेपाल टी२० लिगले चर्चा कम बदनामी बढी कमायो ।

तमाम विवाद र आलोचनाबीच अन्ततः नेपाल टी२० लिग बुधबार सकिएको छ । फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी अल स्टार्सले उपाधि जितेको थियो । क्यानले आफ्नै अग्रसरतामा गरेको नेपाल टी२० लिग कुनै पनि दिन रोकिन सक्ने देखिनुले नेतृत्वमाथि गम्भीर प्रश्न उठ्नु स्वाभाविक हो । जिम्मेवारी दिएको भारतीय कम्पनीले धोका दिएको अवस्थामा आफूहरुले त्यसको जिम्मेवारी लिन क्यान पदाधिकारी नै अगाडि सर्नुपरेको थियो ।

यसअघि फ्रेन्चाइज लिगले बढाएको उचाइलाई क्यानले बढाउन सकेन। बरु घटाएको छ । टी२० को हिस्सा बनेर नेपाल आएका केही खेलाडी र प्रशिक्षकले बीचमै प्रतियोगिता त्यागेर जानु, फिक्सिङका लागि प्रस्ताव आएको खेलाडीहरुबाटै सार्वजनिक हुनु र तिनै विवादित पक्षले निम्तिएको अहिले भइरहेको छानबिनले नेपाल टी२० लिगले बलियो विश्वास आर्जन गर्न सक्ने ठाउँ नै रहेन । त्यतिमात्र हैन क्यानले फाइनल अघि देखाएको ट्रफी र फाइनलमा दिइएको ट्रफी पनि फरक भए। क्यानले फाइनलअघि देखाएको ट्रफी आईसीसीले आयोजना गर्ने प्रतियोगितामा दिने जस्तो देखिए पनि फाइनलमा भने क्यानले यसअघि यू१९ प्रतियोगितामा दिएजस्तो भएको भन्दै सामाजिक सञ्जालमा पनि खूबै आलोचना भएको छ ।

यसअघिका खेलाडी विदाइ होस् वा कुनै पत्रकार सम्मेलनमा प्रमुख अतिथिविना क्यानले कार्यक्रम सुरु गर्ने गरेको थिएन। तर क्यान आफैँ आयोजक भएको लिगको समापनमा प्रमुख अतिथि को थिए भन्नेसम्म थाहा हुन सकेन । विजेता टोलीका कप्तान आफैँले गएर उपाधि लिएका थिए। समापन समारोहको भिडियो खिच्न समेत टेलिभिजनका क्यामरा पर्सनलाई अनुमति दिइएन । लिगको अन्य दिनभन्दा केही बढी दर्शक त्रिवि मैदान पुगे पनि त्यहाँ उनीहरुले लगाएको नाराले क्रिकेट समर्थक पनि क्यान नेतृत्वप्रति सन्तुष्ट छैनन् भन्ने प्रस्ट थाहा हुन्थ्यो ।

अधिकारसम्पन्न भएर पनि क्यान नेतृत्व कार्यसम्पादन र व्यवस्थापनमा नराम्ररी चुकेको छ। क्यानले विश्वास आर्जन गर्ने अवसरलाई निराशामा बदलेको छ । विश्वासको संकट सृजना भएको छ । फ्रेन्चाइज लिगले विगतमा आर्जन गरेको प्रतिष्ठालाई क्यानले आयोजना गरेको नेपाल टी२० लिगले जोगाउन नसकेको मात्र होइन अनेकखाले प्रश्न उब्जाएर सम्पन्न भएको छ । भविष्यमा छानबिनबाट आउने निष्कर्षले क्यान नेतृत्वको कार्यक्षमता अझै प्रस्ट हुनेछ ।