रेसुंगा विमानस्थलमा डेमो उडान सम्पन्न
तारा एयरको विमान सफल अवतरण
गुल्मी — गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबारको प्रदर्शनी उडान सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा रहेको विमानस्थलमा तारा एयरको ९ एन–ए–एलओ कल साइन रहेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ बजे उडेको विमान ११ बजेर ४७ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण भएको हो ।
पहिलो पटक हवाईयात्रीका रुपमा गुल्मी आइपुगेका नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले विमानस्थल निर्माणमा ढिलाइ हुँदा चिल उडेका फोटोहरु खिचेर ट्रोल बनाउने व्यक्तिहरुका कारण नियमित उडान चाँडो बनाउन सम्भव भएको बताए । उनले भने, ‘यो विमानस्थल निर्माण ढिलाइ हुँदा चिलका फोटोहरु खिचेर ट्रोल बनाउनुभयो, यसले मलाई चाँडो उडानका लागि उत्साह थप्यो । ’ ज्ञवालीले विमानस्थलको अवधारणा, शिलान्यास र सम्पन्न भएर नियमिति उडानको प्रक्रियासम्मको सहयात्री बन्न पाउँदा खुसी व्यक्त गरे ।
विमानमा पहिलो यात्रीका रुपमा गुल्मी आएकी एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अब नियमित उडानको लागि तयारी गर्नुपर्ने बताइन् । उनले खर्च गर्ने क्षमता भएपछि नियमित उडान हुने तर सुविधाका लागि भन्दा पनि बिरामी हुँदाका लागि उडान हुनुपर्ने बताइन् ।