नेपाली कांग्रेसको धन्धा विरोध गर्ने र सरकार ढाल्न खोज्‍ने हो : अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस पुस २६ गते सरकारले विश्वास प्राप्त गर्न नसकोस् भन्दै जोडले लागेको बताएका छन् । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले त्यसका लागि प्रधानमन्त्रीको ‘पद बाँड्दै हिँडेको’ बताए । ‘अहिले असफल पार्ने प्रयास जोड भएको छ । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले वी विल कमब्याक भन्नु भएको छ । बट दे डिडन्ट टक ह्वेन दे कमब्याक,’ उनले भने ‘त्यसको संकेत उहाँहरुले पुस २६ गते सरकार ढाल्छौैं र आउछौं भन्नु भएको हो ।’

कांग्रेसहरु यस्तो खुद्रा खेलमा लागेको र पार्टीहरुमा प्रधानमन्त्री बाँडिरहेको ओलीको आरोप थियो । ‘दलका नेताहरूलाई बोलाएर प्रधानमन्त्रीको कुरा गर्नु भएको छ। यो संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेन भने अर्को विकल्पमा जाँदै जाँदैन स्वत: संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो पार्टीको दलको नेता प्रधानमन्त्री नियुक्त हुन्छ,’ उनले भने ।

उनले कांग्रेसलाई लक्षित गर्दै यसो भनेका थिए । साथै कांग्रेस सत्ता आउँछ कि भन्नेर आगामी ५ वर्ष सरकार ढाल्ने खेलमा लाग्ने पनि ओलीको जिकिर थियो । ‘उहाँहरुको अबको ५ वर्षको धन्धा सरकारको विरोध गर्न वा ढाल्नमा रहनेछ । अहिले पनि हामीभित्रको अन्तर विरोधमा खोल्न पायो भने सरकारको नेतृत्व पाउँछ । त्यस्तो भएन भने ७६ (४) नभए ७६ (५)मा जान्छ,’ ओलीले भने ‘अहिलेको राजनीति गरिरहेको व्यक्ति संविधानको धारा नपढेको र नबुझेको अध्यक्ष वा सभापति छैनन् । कांग्रेसले हामीलाई थाङ्नामा सुताउछ खोज्छ । आउन यहाँ बसौं छलफल गरौं ५ बजाऔं अनि प्रधानमन्त्री बनाउँला भनेर छक्काउन खोज्छ भने सबैतिर उसको धन्धा त्यही हो ।’

छिमेकीहरू सरकार फेरफार गर्नुपर्छ भनेर लागेका छन् : ओली

त्यस्तै अध्यक्ष ओलीले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताएका हुन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, ‘यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो ।’

सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ थियो । उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए । सरकारी गठनका क्रममा भएका त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको ओलीको भनाइ थियो । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए । ‘हामी सार्वभौम सत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति, यो सानो कुरा होइन । नेपाली जनता अहिले किन खुसी छन् यसै कारण कि नेपालीले सरकार बनाएको छ,’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको विषयमा ओलीले भने, ‘अहिले पनि हाम्रा मित्रहरू ढोकाबाट होइन पर्खाल माथिबाट हाम्रो कम्पाउन्डमा पसेर सरकार यसरी बनाउन कहाँ पाइन्थ्यो, फेरफार गर्नुपर्छ भनेर लागेका छन् ।’

प्रधानमन्त्री दाहालले पुस २६ गते संसद्बाट विश्वासको मत लिँदैछन् । त्यसलाई असफल बनाउन प्रमुख प्रतिपक्षमा पुगेको नेपाली कांग्रेस लागेको सूचना सार्वजनिक भएको अवस्थामा सत्तारुढ गठबन्धनका प्रमुख नेता ओलीले भने, ‘यस्तो खालको क्रियाकलापको अपेक्षा गर्दैनौं । हामीले हाम्रो राष्ट्र आफ्नो ढंगले चलाउँछौ । जे सहयोग गर्न सक्नुहुन्छ गर्नुस् तर आन्तरिक मामिलामा हात हाल्ने काम नगर्नुस् ।’

नेपालले कुनै पनि विदेशी मुलुकको आन्तरिक राजनीतिमा चासो नराख्ने र विदेशी मुलुकले पनि त्यस्तो गर्न नहुने ओलीको भनाइ थियो । उनले नेपालमा जुन सरकार बन्यो त्यससँग मिलेर काम गर्न छिमेकी मुलुकहरूलाई आग्रह गरेका छन् । उनले भने, ‘हामी कसैमाथि अर्घेल्याउँ गर्न गएका छैनौं, हामीमाथि पनि अर्घेल्याइँ नहोस् । हामी हाम्रा छिमेकीहरूलाई जो सरकार बन्छ त्योसँग मिलेर काम गर्न आग्रह गर्छौं । हामी सबै छिमेकीसँग सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्न चाहन्छौं ।’

एमालेले प्रतिनिधिसभामा निर्वाचित संघीय सांसदहरूलाई दुई दिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।