प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबिच भेटबार्ता : सरकारको समर्थन गर्न आग्रह
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ । बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन् । त्यस्तै उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ । एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ ।
प्रचण्डलाई विश्वासको मत दिने कि नदिने २६ पुसमै निर्णय हुन्छ : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने निर्णय अन्तिम समयमा मात्र लिइने बताएका छन् । युवा संघ नेपालको आज भएको कार्यक्रममा नेपालले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्नेभन्नेबारे अहिले नै बोल्न हतारो हुने बताए ।
प्रचण्डले प्रतिनिधिसभामा २६ पुसमा विश्वासको मत लिँदै छन् । नेपालले त्यही दिन निर्णय लिइने सम्भावना व्यक्त गरे । सरकारबारे बोल्न हतार नभएको बताएका नेपालले भने, ‘विश्वासको मत लिने दिन २६ गते हो । त्यही दिन निर्णय लिए हुँदैन ? अहिले सस्पेन्समै रहोस् ।’