नेताहरूको बद्ख्वाइँ नगर्न माधब नेपालको आग्रह : नेकपा एकीकृत समाजवादी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीका नेताहरूलाई आफूलाई लागेको कुरा बैठकमा राख्न आग्रह गरेका छन् ।पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई लागेको कुरा मिडियामा प्रचार गरेर पार्टी नबन्ने बताए । उनले भने, ‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने । पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने । आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने ? यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ ।’
उनले सबै कुरा पार्टीमा छलफल गर्ने नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीले पार्टीविरुद्ध गतिविधि गरेको बैठकमा कुरा उठेपछि अध्यक्ष नेपालले यस्तो निर्देशन दिएका हुन् । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप छ । झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ता दिएकी थिइन् । भने, मुकुन्दले सार्वजनिकरूपमै नेतृत्वविरुद्ध बोल्दै आइरहेका छन् ।
मुकुन्द र झाँक्रीमाथि कारबाहीको माग
यसैबीच नेकपा एसको जारी बैठकमा स्थायी कमिटीका वरिष्ठ नेता मुकुन्द न्यौपाने र पार्टी सचिव रामकुमारी झाँक्रीमाथि कारबाहीको मागसमेत भएको छ । उनीहरूमाथि एमाले र माओवादीको पैरवी गरेको र आफ्नै पार्टी अध्यक्षको बद्ख्वाइँ गरेको आरोप पोलिटब्युरो सदस्यहरूले लगाएका छन् ।
झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसंगसमेत निस्किएको बैठकका सहभागीले बताए । मुकुन्दले सार्वजनिकरूपमै पार्टी नेतृत्वविरुद्ध बोलेको आरोप छ । उनले बारा १ मा गएर एमालेका अच्युत मैनालीलाई मत मागेको आरोप पुष्टि हुने प्रमाण नै बैठकमा पेश भएको बताइएको छ ।
वामपन्थी दलहरूसँग एकता गर्ने जिम्मा सचिवालयलाई, सरकारबारे अनिर्णित
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले वामपन्थी धारमा रहेका सबै दलहरुलाई एकता गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिएको छ । पोलिटब्युरोको दुई दिन चलेको बैठकले एकता, सहकार्य, मोर्चा बनउने र वामपन्थी जनमतलाई एकै ठाउँमा ल्याउन आवश्यक गृहकार्य गर्ने जिम्मेवारी सचिवालयलाई दिएको छ । ‘हाम्रो पार्टी वामपन्थीहरुबीचमा एकता गर्ने, सहकार्य गर्ने, मोर्चा बनाउने, वामपन्थी जनमतलाई एक ठाउँमा ल्याउने र उनीहरुको पक्षमा काम गर्ने हिजो पनि गर्यौं र भोलि पनि गर्ने छौं,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने ‘केन्द्रीय सचिवालयलाई यस विषयमा गृहकार्य गर्नका लागि अनुमति प्रदान गरेको छ । यस कामलाई केन्द्रीय सचिवालयले समन्वय गर्दै छ ।’
सरकारको बारेमा पनि थप अध्ययन गर्न आवश्यक भएको भन्दै यस विषयमा पनि आवश्यक अध्ययन गर्ने जिम्मेवारी सचिवालयलाई दिइएको खतिवडाले जानकारी दिए । ‘सरकारको बारेमा बृहत छलफल गरेका छौं । यसको विषयमा थप अध्ययन, छलफल र विचार विमर्श गर्नुपर्ने र यसले देश र जनतामा के कस्तो कार्यक्रम ल्याउछ र हाम्रो दलसँग उसको के कस्तो सम्बन्ध हुन्छ साथै नागरिक सम्बन्धको विषयमा कस्ता नीति ल्याउँछ भन्ने चासो छ,’ खतिवडाले भने ‘धेरै कुरा बुझ्नुपर्ने भएकाले पोलिटब्युरोले यस विषयमा निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।’ दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा सरकारमा समसामयीक राजनीतिक अवस्थाको बारेमा सदस्यहरुले धारणा राखेका थिए ।