गुरुङ समुदायको गौरवशाली परम्परालाई उच्च सम्मान गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमू समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताउनुभएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रमलाई शुक्रबार टुँडिखेलमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले तमू समुदायको लगनशीलता, मेहनत, वीरता र बलिदानका कारण नेपाली पात्रोमा यो समूदायको पहिचान गौरवपूर्ण रहेकोसमेत बताउनुभएको छ । यो समुदायको पहिचान विश्वभर नै इमान्दारिता, पारदर्शिता, बलिदान र समर्पण पर्यायको रुपमा स्थापित भएकोसमेत उल्लेख गर्नुभयो ।

‘‘तमू समुदायको मौलिक र ऐतिहासिक पहिचान स्थापित छ। आफ्नो इमान्दारिता, लगनशीलता, मेहनत, वीरता र बलिदानको कीर्तिमानीका कारण तमू समुदायको नेपाली पात्रोमा गर्वको एउटा पहिचान छ’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘विश्वभरीका लागि इमान्दारिता, पारदर्शिता, त्याग, बलिदान, समर्पण पर्यायको रुपमा स्थापित छ । तमू समुदाय र उनका पूर्खाले आर्जन गरेको गौरवशाली परम्परालाई हामी उच्च सम्मान गर्न चाहन्छौँ ।’’ प्रधानमन्त्री प्रचण्डले ल्होसारको महिमा अहिले काठमाडौंमा मात्र नभएर ७७ जिल्ला हुँदै विश्वव्यापी बनेको उहाँको भनाइ छ । तमू समुदायको नयाँ वर्षको पात्रोले सबैलाई स्वागत गरेको भन्दै उहाँले शुभकामना तथा बधाइसमेत दिनुभएको छ ।

‘‘ल्होसारको महिमा विश्वव्यापी छ भन्ने प्रमाणित भएको छ । काठमाडौंको टुँडिखेलमा मात्र होइन ७७ जिल्लामै यो पर्व विशेष रुपमा मनाइँदै छ। यहाँ परम्परागत बाजागाजासहित उपस्थित हुनुभएको छ। यहाँ झुन्डिएका झण्डा र शितल हावासँगै नयाँ पात्रोले सबैलाई स्वागत गरेको छ। तमू ल्होसारको शुभकामना तथा बधाई दिन्छु’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित कार्यक्रमको सुरक्षामा ध्यान दिन सम्बोधनकै क्रममा विशेष निर्देशन दिनुभयो। उहाँले सरकारले तमू ल्होसारमा अहिलेसम्म दिएको भन्दा बढी रकम सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ।

रासस

काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सबको रौनक