नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री, रबिको पर्टी तथा सिके राउतले पनि मन्त्रालयको माग
काठमाडौँ — नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओवादीका सचिव गणेश साहले बताए । उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्त्रालयको टुंगो पछि लाग्नेछ । श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।
रास्वपा दाबी : उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालय
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने भएको छ । स्रोतका अनुसार लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेका छन् । अहिले नयाँ बानेश्वरस्थित संघीय ससंद् भवनमा बसिरहेकको सत्ता गठबन्धनको बैठकपछि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेपछि सबै कुरा स्पष्ट हुने बताइएको छ ।
छोटो कुराकानी गर्दै सभापति लामिछानेले भने,’अहिले संसद् भवनमा बैठक बस्दै छ । म त्यहाँ जाँदैछु । बैठकपछि मात्रै सबै कुरा भन्नु उचित होला । ‘उनले रास्वपाले कुन मन्त्रालयले पाउने भन्ने टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पार्टीले तय गर्ने जानकारी दिए ।
प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।
उद्योग वा कृषि मन्त्रालय हामीले पाए राम्रो : सिके राउत
काठमाडौँ — सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्ने बताएका छन् । सत्ता गठबन्धनको ११ बजे बस्ने बैठकमा राउतले यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्ष राउतले भने, ‘अहिले ११ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । हामीले आन्तरिक रुपमा उद्योग वा कृषि मन्त्रालय पायौं भने राम्रो हुन्छ भन्ने हो । ‘
सत्ता गठबन्धनको बैठकपछि आफ्नो पार्टीको आन्तरिक बैठक बसेर सरकारमा को सामेल हुने भन्ने बारेमा पनि निर्णय गरिने उनले बताए ।प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले मधेस प्रदेशमा समेत सत्ता साझेदारीका लागि तयारी गर्दै छ ।