राष्ट्रपतिसहित मित्रराष्ट्रहरुले प्रचण्डलाई बधाई
काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो । दाहाललाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।
दाहाललाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । दाहालले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् ।
‘चीनले माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा बधाई दिन चाहन्छु भन्दै उनको कार्यकालमा दुई देशको सहकार्य र सम्बन्ध थप विस्तारित हुने अपेक्षा गरेको छ,’ सचिवालयका एक सदस्यले भने । ती सदस्यका अनुसार भारतका राजदूत श्रीवास्तवले पनि दाहाललाई बधाई दिँदै दुई मुलुक बीचको सम्बन्धलाई थप बलियो बनाउँदै उचाईमा पुर्याउने उल्लेख गरेका छन् ।
राष्ट्रपतिले दिइन् प्रचण्डलाई बधाई
यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिएकी छिन् । प्रतिनिधिसभाका सात दल र तीन स्वतन्त्र सांसदको समर्थनमा राष्ट्रपतिबाट प्रचण्ड आज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्डलाई सम्बोधन गर्दै राष्ट्रपतिले जारी गरेको पत्रमा भनिएको छ, ‘नेपालको सविधानको धारा ७६ को उपधारा (२) बमोजिम तपाईंलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको छु । प्रधानमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु ।’
प्रचण्ड एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरणकुमार साह र डा. अमरेशकुमार सिंहको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।
प्रचण्डले २६५ सदस्यीय प्रतिनिधिसभामा १६९ सांसदको समर्थन प्राप्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्ने व्यवस्था छ । संसदमा कुनै पनि दलले बहुमत प्राप्त नगरेका कारण राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा १ को सट्टा सीधै उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न एक साताअघि दलहरूलाई आह्वान गरेकी थिइन् ।