पेरिसको कुर्द सांस्कृतिक केन्द्रमा गोली चल्दा तीनको मृत्यु

६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्थित कुर्द सांस्कृतिक केन्द्रमा गाेली चलाउँदा तीनजनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अन्य तीनजना घाइते भएका छन् । उक्त बन्दुकधारीले नजिकै रहेकाे हेयरड्रेसिङ सैलुनमा पसेर गोली चलाएकाे थियाे । सो क्षेत्र पसल र रेष्टुरेन्टहरूको व्यापक चहलपहल भएको क्षेत्र हो जहाँ ठूलो संख्यामा कुर्दहरू बसोबास गर्छन् ।

प्रत्यक्षदर्शीहरूले एएफपीलाई बताएअनुसार यसअघि दुईवटा हत्या प्रयासमा संलग्न बन्दुकधारीले सुरुमा कुर्दिश सांस्कृतिक केन्द्रलाई निशाना बनाएर नजिकैको हेयरड्रेसिङ सैलुनमा प्रवेश गरेका थिए । ‘हामीले एक बूढो सेतो मानिसलाई सैलुनमा प्रवेश गरेको देख्यौँ, त्यसपछि कुर्दिश सांस्कृतिक केन्द्रमा गोली हान्न थाले,’ नजिकैको रेस्टुरेन्टमा काम गर्ने रोमेनले एएफपीलाई टेलिफोनमार्फत बताए ।

सेन्टर अहमद काया भनिने कुर्दिश सामुदायिक केन्द्र, पेरिस क्षेत्रमा कुर्द जनसंख्यालाई एकीकृत गर्न काम गर्ने परोपकारी संस्था हाे ।