कांग्रेस संसदीय दलको नेतामा गगन उम्मेदवार बन्ने, शेखर प्रस्तावक

काठमाडौँ — नेपाली कांग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएका छन् । मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । शीर्ष नेताहरू बसेर गरेको सो निर्णय अहिले केहीबेरमा अनामनगरस्थित एक होटेलमा आफ्नो समूहका नेता र सांसदहरुलाई सुनाउने तयारी छ ।

संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ । तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् । संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने हुन्छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन् । उनीहरू नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।

कांग्रेस संस्थापनबाट देउवा एक्ला दाबेदार : पछि हटे रामचन्द्र, शशांक र प्रकाशमान

कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक्ला दाबेदार भएका छन् । आकांक्षी देखिएका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंह उम्मेदवारीबाट लगभग पछि हटेका छन् । देउवानिकट नेता एनपी साउदले संस्थापनबाट सभापति देउवालाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयासमा प्रगति भएको बताए । ‘सभापति संसदीय दलको नेतामा लड्नुहुन्छ, संस्थापनबाट अरू कुनै नेताले घोषित रूपमा आकांक्षा राख्नुभएको छैन,’ उनले भने, ‘सबैको चाहना सभापति सर्वसम्मत हुँदा पार्टीलाई फाइदा हुन्छ भन्ने नै छ ।’

संस्थापनबाट आकांक्षा राखेकामध्ये वरिष्ठ नेता पौेडेलले पनि आफू उम्मेदवार बन्ने–नबन्ने टुंगो लागिनसकेको बताए । ‘अहिलेसम्म टुंगो लागिसकेको छैन । साथीहरूसँग छलफल गरिरहेको छु,’ उनले सोमबार साँझ नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै भने । शशांक कोइरालाले पनि सभापति देउवा नै संसदीय दलको नेतामा उपयुक्त हुने अभिव्यक्ति दिँदै आएका छन् । नेता प्रकाशमान सिंह सभापति देउवासँग निरन्तर छलफलमा छन् । सिंहनिकट स्रोत भन्छ, ‘उहाँले कुनै तयारी गर्नुभएको छैन । उहाँ सभापतिज्यूसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ । सभापतिज्यू लड्ने अवस्थामा उहाँलाई नै सघाउने मनस्थितिमा हुनुहुन्छ ।’

सभापति देउवा तीनैजना नेतासँग उनीहरूको व्यवस्थापनलाई लिएर संवादमा छन् । सभापति देउवा आकांक्षी नेता र सांसदसँग छलफल गरिरहेका छन् । ‘महत्वपूर्ण नेता र सबै सांसदसँग भेटघाट र सम्पर्कमा हुनुहुन्छ,’ साउदले भने ।

यसरी चुनिन्छ कांग्रेसमा संसदीय दलको नेता

कांग्रेस संसदीय दलको विधान, २०७४ मा दलको नेताबारे व्यवस्था छ । संसदीय दलमा रहेका प्रतिनिधिसभाका सदस्यबाट एकभन्दा बढी दाबेदार रहेको अवस्थामा निर्वाचन हुने व्यवस्था छ । दफा ६ मा सम्पूर्ण सदस्यको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ ।

पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ भने बाँकी स्वतः बाहिरिनेछन् । दुई प्रतिस्पर्धीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ । निर्वाचन गराउन र निर्वाचन गर्ने प्रक्रिया निर्धारण गर्न केन्द्रीय समितिले निर्वाचन समिति बनाउने व्यवस्था छ । शनिबार कांग्रेस कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

अंकगणितअनुसार कांग्रेसका ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ सांसद रहेको अवस्थामा निर्वाचन जित्न ४५ मत आवश्यक पर्छ । परिणामलाई हेर्दा संस्थापन समूहमा ३३ प्रत्यक्ष र २२ समानुपातिक गरी ५५ सांसद छन् भने संस्थापन इतर समूहमा २४ प्रत्यक्ष (महामन्त्री विश्वप्रकाश शर्मासमेत गरी । शर्माले महामन्त्री थापालाई सघाउने बताउँदै आएका छन् ।) र, १० समानुपातिक गरी ३४ जना सांसद देखिन्छन् ।