तमु समाज यूकेको ल्होछार कार्यक्रम अगामी जनवरी ७ तारिख

लण्डन । तमु समाज यूकेले यहि १३ नोभेम्बर २०२२ आईतबारको दिन लण्डनको विम्बलीस्थित बार्नहाम पार्कमा रहेको समाजको आफ्नै सामुदायिक भवनमा बैठक बसी आउँदो जनवरी ७ तारिखमा बिरालो वर्ग अर्थात् हि ल्होछार कार्यक्रम धुमधामले मनाउने निर्णय गरेको छ ।

सो ल्होछार/ल्होसार कार्यक्रम भव्यताका साथ मनाउन आवश्यक छलफल तथा सरसल्लाह गर्न सो बैठक राखिएको हो । तमु समाजको अध्यक्ष शिवकुमार गुरुङको अध्यक्षतामा बसेको सो बैठकमा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्ष द्वय हर्कबहादुर गुरुङ र श्रीमति बिन्दु घले, महासचिव धरमबल गुरुङ, कोषाध्यक्ष खेमबहादुर गुरूङ र आमा समुहको निवर्तमान अध्यक्ष बिजु गुरुङ र अन्य विभिन्न पदमा आसिन पदाधिकारीहरु, सल्लाहकारहरु लगायत अन्य आमाबुबा, दाज्यूभाई तथा दिदीबहिनीहरुको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो । कार्यक्रमलाई महासचिव धरमबल गुरुङले सञ्चालन गरेका थिए ।

बैठकको प्रारम्भ मै एजेन्डा अनुसार कोषाध्यक्ष खेमबहादुर गुरुङले समाजले विगत केही समय देखि हालसम्म गरेका विभिन्न कार्यक्रमहरूको आर्थिक विवरणको जानकारी दिलाएका थिए भने महासचिव धरमबल गुरुङले विगत केही समय देखि हालसम्म भए गरेका कार्यक्रमहरु जस्तै देउसी भैलो कार्यक्रम, पाकिस्तान प्राकृतिक विपदको लागि आर्थिक सहयोग संकलन अभियान, १३ नोभेम्बरको पप्पी परेडमा तमु समाज युकेको सहभागिता, तमु धी युकेको रात्री भोज कार्यक्रममा सरिक, लन्डन स्थित वुलवीचमा हुन गई रहेको गोर्खा चौताराको च्यारिटी डिनर कार्यक्रममा सरिक, सहारा युकेको च्यारिटी डिनर नाइटमा सरिक जस्ता कैयौ गतिविधिहरु सम्बन्धमा जानकारी गराएका थिए।

त्यस्तै गरि ल्होछार/ल्होसार कार्यक्रमलाई राम्रो र प्रभावकारी रूपमा सम्पन्न गर्न तयार पारिएको बुँदाहरू माथि दफा दफामा छलफल गरी आवश्यक निर्णयहरु गरेको छ । बैठकमा छलफल तथा निर्णय भए अनुसार गुरुङहरुको वर्ग फेरिने अर्थात् बाघ वर्गलाई विदाई गर्दै बिरालो वर्गलाई स्वागत गर्न डिसेम्बर महिनाको ३१ तारिख शनिबारको दिन समाजको विम्वलीस्थित बार्नहाम पार्कमा रहेको समाज घरमा ग्रह शान्ति पूजा कार्यक्रम आयोजना गर्ने र त्यस पूजा कार्यक्रम कार्यान्वयनको लागि हरिमान गुरुङलाई संयोजन गर्ने अभिभारा दिने निर्णय पनि गरेको छ । त्यस्तैगरि ७ जनवरी २०२३ को दिन हेरोको लेजर सेन्टरमा तमु हि ल्होछार/लहोसार कार्यक्रम भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ ।

उक्त दिन अर्थात् ७ जनवरीको ल्होछार/ल्होसार कार्यक्रम भव्य र सभ्यको साथै मनोरञ्जनपूर्ण बनाउनको लागि नेपालबाट २ जना कलाकारहरु लोक गायक पृथ्वीमान गुरुङ र राजमान गुरुङ तमु समाज युकेले युके ल्याउन पहल गरिरहेको कुरा अध्यक्षले जानकारी गराए ।

त्यस्तै गरि त्यस दिनको कार्यक्रमको लागि प्रमुख अतिथि, विशिष्ट अतिथिहरुको निमन्त्रणा सम्बन्धमा, कार्यक्रममा सकेसम्म अधिकतम सहभागिता कसरी जुट्याउने, कार्यक्रम मनोरञ्जनपूर्ण बनाउन नृत्यको तयारी, खानपिनको व्यवस्थापन, डिजेको व्यवस्थापन, कार्यक्रम सञ्चालन कसले, कसरी गर्ने जस्ता अनेकौं आवश्यक बुँदाहरूमा छलफल तथा निर्णयहरु गरि सभा सम्पन्न भएको छ ।

अन्तमा समाजको अध्यक्ष शिवकुमार गुरुङले सभामा सहभागी सबै सदस्यहरुलाई अमूल्य समय दिई उपस्थित हुनु भएकोमा धन्यवाद दिनुभयो । बेलुका करिब साँढे पाँच बजे तिर शुरू भएको सभा बेलुका करिब सवा नौ बजेतिर अन्त भएको थियो ।