विश्वकपको उपाधि अर्जिनटिनालाई, मेस्सी बने सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबाप्पेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

त्यसको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपेका थिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल थपेका थिए ।

मेस्सी बने सर्वोत्कृष्ट खेलाडी

आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निभाउनुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।

८८ हजार दर्शक क्षमताको लुसेल आइकोनिक स्टेडियममा भएको रोमाञ्चक र सनसनीपूर्ण फाइनल भिडन्तमा मेस्सी प्रेरित अर्जेन्टिनाले टाइब्रेकरमा साविक विजेता फ्रान्सलाई ४-२ गोलले हराउँदै उपाधि जितेको हो । सर्वोत्कृष्ट खेलाडीसँगै मेस्सीले ब्यक्तिगत गोल्डेन बल पुरस्कार पाउनुभयो । निर्धारित समयमा २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेलमा टाइब्रेकरमा पुगेर अर्जेन्टिनाले बाजी मारेको थियो । फाइनल खेलमा मेस्सीले दुई गोल गर्नुभयो । उहाँले टाइब्रेरममा पनि पहिलो गोल गर्दै टोलीको मनोबल उच्च राख्नुभएको थियो ।

पाँचौं पटक विश्वकप खेल्नुभएका ३५ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको कीर्तिमान समेत रच्नुभएको छ । उहाँले यसअघि जर्मनीका पूर्व मिडफिल्डर लोथर माथ्युसको नाममा रहेको २५ खेलको कीर्तिमान तोड्नु भएको हो । फाइनल खेलमा दुई गोल गर्नुभएका मेस्सीले यस विश्वकपमा सात गोल गर्नुभयो । उहाँले चार गोलका लागि असिस्ट पनि दिनुभएको थियो । मेस्सी विश्वकपमा सर्वोकृष्ट खेलाडी हुनुभएको दोस्रो पटक हो । यसअघि उहाँले सन् २०१४ को विश्वमपमा पनि यस अवार्ड जित्नुभएको थियो ।

अर्जेन्टिनाका लागि मेस्सीले विश्वकपमा कीर्तिमानी १३औं गोल पूरा गर्नुभएको छ । मेस्सीले सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै यसअघि गाब्रियल बाटिस्टुटाको नाममा रहेको १० गोलको कीर्तिमान तोड्नुभएको थियो । छैटौं पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनालाई तेस्रो उपाधि दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गर्नुभएका मेस्सीको यो पहिलो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो ।

अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो । विश्व फुटबलमा सबै खाले उपाधि चुम्नुभएका मेस्सीले विश्वकप उपाधि मात्र जित्न बाँकी थियो । विश्वकप उपाधि चुम्ने सपना पनि मेस्सीले कतारमा पूरा गरेरै छाड्नुभएको छ ।

गोल्डेन बुट एमबाप्पेको पोल्टामा

यसैगरी फिफा विश्वकपको गोल्डेन बुट अवार्ड फ्रान्सका युवा स्टार केलिएन एमबाप्पेले जित्नुभएको छ । सर्वाधिक गोल कर्तााले पाउने अवार्डका लागि एमबाप्पेले आठ गोल गर्नुभएको थियो । उहाँले अर्जेन्टिनामा मेस्सीलाई एक गोलले पछि पार्दै यस अवार्ड जित्नुभएको हो । फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै ह्याट्रिक पूरा गर्नुभएका २३ वर्षीया एमबाप्पेको फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि दिलाउने धोको भने पूरा भएन ।

यससँगै एमबाप्पेको विश्वकपमा ब्यक्तिगत गोलसंख्या १२ गोल पुगेको छ । एमबाप्पेले सिल्भर बल समेत प्राप्त गर्नुभयो । ब्रोन्ज बल क्रोएसियाका लुका मोड्रीचलाई प्रदान गरियो ।

गोल्डेन ग्लोब मार्टिनेजलाई

विश्वकपका उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने गोल्डेन ग्लोभ अवार्ड अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले जित्नुभएको छ । ३० वर्षीय मार्टिनेजले फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँले टाइब्रेकरमा फ्रान्सको प्रहार समेत बचाउनुभएको थियो । अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निभाउनु भएका मार्टिनेजले सबै खेल पूरा समय खेल्नुभएको थियो ।

उहाँले क्वार्टरफाइनलमानेदरल्यान्ड्स र फाइनलमा फ्रान्सविरुद्धको दुवै टाइब्रेकरमा उत्कृष्ट खेल पस्कनुभयो । अर्जेन्टिनाले यसअघि कोपा अमेरिका कप जित्दा पनि मार्टिनेजले उत्कृष्ट गोलरक्षक हुनुभएको थियो । यसैगरी फिफा योङ प्लेयर अवार्ड अर्जेन्टिनाका इन्जो फर्नान्डेजले जित्नुभएको छ । यस अवार्ड २१ वर्षभन्दा मुनिमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ।

उपाधिसँगै अर्जेन्टिनाले पायो ४२ मिलियन डलर

कतार विश्वकप उपाधिसँगै अर्जेन्टिनाले ४२ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । यो रकम सन् २०१८ को २१औं संस्करणभन्दा चार मिलियन अमेरिकी डलरले बढी हो । विजेता अर्जेन्टिनाले नगदसहित सुनको जडित ६.१ किलोग्रामको आकर्षक ट्रफी समेत हात पारेको छ । उक्त सक्कली ट्रफी रनिङ ट्रफी हो । कुनै पनि देशले लगातार तीन पटक विश्वकप जितेमा मात्र सक्कली ट्रफी सँधैका लागि लैजान पाउने ब्यवस्था छ ।

यस्तै उपविजेता फ्रान्स ३० मिलियन अमेरिकी डलर पाएको छ । तेस्रो भएको क्रोएसियाले २७ मिलियन अमेरिकी डलर र चौथो भएको मोरोक्कोले २५ मिलियन अमेरिकी लडर पुरस्कार प्राप्त गरेको छ । यसैगरी क्वार्टरफाइनलमा पुगेका टोलीले १७ मिलियन, अन्तिम १६ मा पुगेको प्रत्येक टोलीले १३ मिलियन र समूह चरणमा खेल्ने सबैले नौ मिलियन अमेरिकी डलर प्राप्त गरेका छन् ।