चीन जानु अघि बर्षमानले प्रधानमन्त्रीसँग भेट
काठमाडौं: चीन भ्रमणमा जानु अघि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका पुनले आफ्नो चीन भ्रमण र सम्भावित सत्ता समीकरण बारे छलफल गरेका थिए । पुनले गठबन्धनकै सरकार बन्ने करिब निश्चित जस्तै भएकाले वर्तमान सरकारले दूरगामी असर गर्ने खालका निर्णय नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
सत्ता साझेदार दलका हिसाबले सबै काम आपसी साझेदारी मै भएको भन्दै उनले अब नयाँ समीकरण बन्नु भन्दा अघि गठबन्धनका सबै दल सचेत हुनुपर्ने बताएका थिए । पुनसँगको भेटमा प्रधानमन्त्रीले उनको स्वास्थ्य लाभको कामना गर्दै उपचारका क्रममा सरकारले गर्नुपर्ने जुनसुकै सहयोग गर्न तयार रहेको बताएका थिए । नेपालमा सत्ता समीकरणको छलफल उत्कर्षमा पुगेका बेला वर्षमान पुनको चीन भ्रमणलाई महत्वका साथ लिइएको छ ।
पुनको सचिवालयले उनको भ्रमण स्वास्थ्य जाँच र विगतको परीक्षणको फलोअप भने पनि उनको भ्रमण राजनीतिक रुपमा पनि उत्तिकै सशक्त भएको नेकपा माओवादी केन्द्रका एक नेताले बताए ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महत र प्रचण्डबीच भेटवार्ता
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
शनिबार बिहान भएको भेटवार्तामा डा महतले प्रतिनिधिसभामा निर्वाचित भएकोमा प्रचण्डलाई बधाइ दिए । साथै महत र प्रचण्डबीच गठबन्धन र समसामयिक राजनीतिक विषयमा छलफल भएको महतले जानकारी दिए ।