स्पेनलाई हराउँदै जापान अन्तिम १६ मा, जर्मनी समूह चरणबाटै बाहिरियो

दोहा: समूह ‘ई’को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ । पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो। सोही कारण जर्मनीलाई गोलअन्तरमा पछाडि पार्दै स्पेनले अन्तिम १६ मा स्थान बनायो ।

बिहीबार राति खलिफा अन्तर्राष्ट्रि रंगशालामा भएको खेलको ११औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको जापानका लागि ४८औं मिनेटमा रित्सु डोअनले बराबरी गोल फर्काएका थिए । त्यसको तीन मिनेट नबित्दै टनाकाले गरेको गोलसँगै जापानले अग्रता लिएको थियो। सोही अग्रता जोगाउँदै जापानले शानदार जितसहित अन्तिम १६ मा स्थान बनाएको हो। समूह विजेता बनेको जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह एफको विजेता उपविजेता क्रोएसियासँग खेल्ने छ ।

स्पेनले भने समूह एफको विजेता मोरक्कोसँग खेल्ने छ। एसियाली मुलुक जापान पहिलो पटक लगातार विश्वकपको अन्तिम १६ मा पुगेको हो। चार वर्षअघि रुसमा अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदै जापान बाहिरिएको थियो ।

जर्मनी लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरियो

त्यस्तै समूह ‘ई’अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे पनि जर्मनी गोलअन्तरको आधारमा तेस्रो स्थानमा सीमित हुँदा जर्मनी नकआउट चरण पार गर्न असफल रह्यो ।

अल बायट रंगशालामा सर्ज जिनाब्रीले १०औं मिनेटमा गरेको गोलसँगै जर्मनीले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको जर्मनीले ५८औं मिनेटमा गोल खाएको थियो। येल्टसिन टेजेडाले गरेको गोलसँगै बराबरी गरेको कोस्टारिकाले ७०औं मिनेटमा २-१ अग्रता बनायो ।

जर्मनीका गोलकिपर म्यानुअल नोएरले आत्मघाती गोल गरेपछि कोस्टारिका नकआउट नजिक पुगेको थियो । तर, अन्तिम समयमा जर्मनीविरुद्ध तीन गोल खाँदा कोस्टारिकाले अगाडिको यात्रा तय गर्न सकेन। जर्मनीका लागि काइ हाभर्ट्जले ७३ र ८५औं मिनेटमा लगातार दुई गोल गरेका थिए।

निर्धारित समयको खेलसकिन एक मिनेट बाँकी रहँदा निक्लास फुलक्रुगले गरेको गोलसँगै जर्मनीले ४-२ गोलको जित सुनिश्चित गर्यो। तर, समूह चरण पार गर्न भने सकेन । यो समूहबाट जापान समूह विजेता र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन् ।