कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको बधाइ साटासाट : गगनलाई प्रधानमन्त्री बनाउन अभियान गर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बधाइ साटासाट गर्नुभएको छ । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको निवासमा पुगेर अर्का महामन्त्री शर्माले बधाइ दिनुभएको हो । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आउनुभएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाइ दिनुभएको हो। काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित थापालाई शर्माले प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताउँदै आउनुभएको छ ।

शर्माले महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएको अनुभव रहेकाले देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभयो । शर्मा झापाबाट काठमाडौं उत्रिनासाथ महामन्त्री थापा निवास रातोपुल पुगेर बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको हो । महामन्त्री थापाले शर्मालाई बधाइ तथा शुभकामना दिनुभयो। थापाको बुबाआमाले पनि शर्मालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छुः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन् । झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधैँ थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शुभकामना व्यक्त गरेका थिए ।

उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदका लागि नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।

अग्रजको समर्थन र आशीर्वादमै कांग्रेसबाट देशको नेतृत्व गर्छु : गगनको दावी

कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यकता रहेको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् । कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए ।

मंगलबार संसदीय दलका नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए। पार्टीका अन्य नेताहरूले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताको रूपमा खुलेर भोट हालेको भन्दै अहिलेको वेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरूले आफूलाई पुरानो गुन लगाउनेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ। यो पार्टीको लागि पनि आवश्यक छ । पार्टीभन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ। भरोसा जोगाउन पनि यो आवश्यक छ। यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको दाबी गरे। नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरूसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरूकै समर्थन र आशीर्वादमा आफूले कांग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे ।