प्रधानमन्त्री बन्न रामचन्द्रको दौडधुप, माधव नेपालसँग सहयोगको लागि अनुरोध
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । उनीहरुबीच कोटेश्वरस्थित नेता नेपालको निजी निवासमा भेट भएको हो ।
पौडेल निकट स्रोतका अनुसार आगामी नयाँ सरकार बनाउने र गठबन्धन कायम राख्ने विषयमा कुराकानी भएको थियो । पौडेलले आफूलाई प्रधानमन्त्री बन्न नेता नेपालसमक्ष अनुरोध गरेका थिए ।
जवाफमा नेता नेपालले आफ्नो सहयोग हुने बताएका थिए। ‘तपाईंलाई सहयोग हुन्छ, तपाईंको समकालिन सबै पीएम भए तपाईं बाँकी हो, हाम्रो सहयोग रहन्छ,’ नेता नेपालले भनेको भनाई उद्धृत गर्दै बोहोराटार स्रोतले नेपालखबसँग भन्यो ।
यसअघि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिसँग पनि भेट गरिसकेका छन् ।
प्रधानमन्त्री दाबी गर्दै आएका सिंह र ओलीबीच भेटवार्ता
कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। सिंहको सचिवालयका अनुसार उनले आइतबार ओलीनिवास बालकोट पुगेर भेट गरेका हुन्।
नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले एमाले अध्यक्ष ओलीसँगको भेटमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए।
उनीहरूबीच करिब एक घण्टा छलफल भएको थियो। ‘यसअघि पनि समय-समयमा भेट हुने गरेको हो। निर्वाचनपछि पहिलोपटक भेट भएको हो। भेटमा शुभकामना आदानप्रदान र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो,’ लामिछानेले नयाँ पत्रिकासँग भने।
निर्वाचनको परिणाम अन्तिम अवस्थामा रहेको समयमा कांग्रेसबाट प्रधानमन्त्रीको दाबेदारका रूपमा आफूलाई अघि सारेका सिंहको अध्यक्ष ओलीसँगको भेटलाई अर्थपूर्ण मानिएको छ।