बन्ला एकीकृत समाजवादी राष्ट्रिय दल? कति पुर्‍यायो समानुपातिक मत ?

प्रतिनिधिसभा समानुपातिकतर्फ अहिलेसम्मको परिणामअनुसार ६ पार्टी राष्ट्रिय दल बन्ने पक्का भइसकेको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा एउटा सिट जितेर समानुपातिकमा कूल सदर मतको ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगका अनुसार कूल मतदाता १ करोड ७९ लाख ८८ हजार ५७० रहेकामा यसको ६१ प्रतिशत अर्थात् १ करोड ९ लाख ७० हजार आसपास मत खसेको छ भने अहिलेसम्मको गणनाअनुसार ३ लाख मत बदर भएको आकलन छ । अहिलेसम्मको हिसाबले कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ ।

यस आधारमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय दल बन्ने निश्चित भइसकेको हो ।

यसबीच सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पनि थ्रेसहोल्ड कटाउन संघर्षरत छ। यो खबर तयार पार्दासम्म उसले २ लाख ५१ हजार ४ सय ७६ समानुपातिक मत पाइसकेको छ । ३ लाख २० हजारलाई थ्रेसहोल्ड मान्दा प्रत्यक्षतर्फ १० सिट जितेको उसले समानुपातिकतर्फ अरू ७० हजार आसपास मत ल्याउनुपर्ने देखिन्छ ।

आयोगको तथ्यांकअनुसार अहिलेसम्म समानुपातिक मत ९२ लाख ८९ हजार ७ सय १६ गनिसकिएको छ। अहिलेसम्मको हिसाबमा कूल सदर मत १ करोड ६ लाख ७० हजार मान्दा अब १६/१७ लाख मत गन्न बाँकी देखिन्छ । यसबाट एकीकृत समाजवादीले ७० हजार मत पाउनुपर्ने हुन्छ ।

यस्तै सीके राउत नेतृत्वको जनमत पार्टी पनि एकीकृत समाजवादी भन्दा अगाडि रहेर थ्रेसहोल्ड कटाउन प्रयासरत छ । प्रत्यक्षतर्फ एक सिट जितेको उसले यो खबर तयार पार्दासम्म २ लाख ६१ हजार २ सय १५ मत ल्याएको छ ।

निर्वाचन आयोगको ताजा तथ्यांकअनुसार समानुपातिकतर्फ पहिलो नम्बरमा रहेको नेकपा एमालेले २५ लाख ३० हजार २ सय १४ मत ल्याइसकेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २३ लाख ९६ हजार ९३ मत प्राप्त गरिसकेको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ६२ हजार ९ सय ८० मत पाएको छ भने चौथो स्थानमा रहेर माओवादी केन्द्रले १० लाख ६१ हजार २ सय मत ल्याएको छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म १० लाख ६२ हजार ९ सय ८० मत पाएको छ भने चौथो स्थानमा रहेर माओवादी केन्द्रले १० लाख ६१ हजार २ सय मत ल्याएको छ ।

आयोगको विवरणअनुसार पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार १ सय ८८ र छैटौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले ३ लाख २४ हजार ३ सय १० मत प्राप्त गरिसकेका छन्। मत गणना जारी छ ।