आयोगले निर्णय नगर्दा स्याङ्जा २को मतगणना अझै पनि सुरु भएन
पोखरा — निर्वाचन आयोगले समयमै निर्णय नगर्दा स्याङ्जाको क्षेत्र नम्बर २ को मतगणना हुन सकेको छैन । एमालेले विभिन्न ५ वटा केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेपछि यो क्षेत्रमा मतगणना अघि बढ्न नसकेको हो । यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।
कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको भन्दै एमालेले ती केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेको छ । एमालेले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार नारा जुलुससहित धर्ना पनि दिएको थियो । आइतबार भएको निर्वाचनमा चापाकोट नगरपालिकाका विभिन्न ५ स्थलमा बुथ कब्जा गरी मतदान गरिएको आरोप एमालेको छ । विदेश गएका र मृत्यु भएका १ हजार ८० जना भन्दा बढीको नाममा मतदान भएको एमालेको आरोप छ । कांग्रेसले भने मतदान भइसकेपछि सुरक्षित रुपमा मतपेटिका मतगणनास्थल आइसकेको भन्दै मतगणनाको माग गरेको छ ।
स्याङ्जा– २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले आयोगका निर्देशन कुरेर बसेको बताए । ‘मंगलबार हामीले मतगणनाको निर्देशन माग्दै आयोगमा पत्र पठाएका थियौं,’ उनले भने, ‘अहिलेसम्म कुनै निर्णय र निर्देशन आएको छैन ।’
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सबै मतदान केन्द्रका मतपेटिका संकलन गरी मतगणनापूर्व सर्वदलीय बैठक बस्ने क्रममा पुनः मतदानको माग आएको बताए । सबै मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकेपछि सबै काम निर्वाचन आयोगको हुने उनको भनाइ छ । ‘हामीले मतपेटिका र कर्मचारीलाई सुरक्षित साथ ल्याइपुर्याएका हौं,’ उनले भने, ‘अहिले पनि सुरक्षाको काम प्रशासनको हो । अरु निर्णय र काम निर्वाचन आयोगको हो ।’