प्रतिनिधि सभामा पराजित चर्चित नेताहरु
काठमाडौं: पछिल्लो मतपरिणाम अनुसार शीर्षस्त नेता पराजित भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, केन्द्र, जनता समाजवादी पार्टीका शीर्ष नेता नै पराजित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भए । यस्तै, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल काठमाडौं ५ बाट पराजित भए ।
पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग ५ हजार ६२ मतान्तरले पराजित भए । एमाले महासचिव शंकर पोखरेल १९२ मत अन्तरले पराजित हुँदा माओवादी केन्द्रकी रेखा शर्मा दाङ-२ बाट निर्वाचlत भइन् । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पनि पराजित भए । गुरुङ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित हुन पुगे। लमजुङ १ बाट चुनाव भिडेका देव गुरुङ र पृथ्वीसुब्बाको मतान्तर ३ हजार १८८ मतान्तर छ ।
पूर्वसभामुख ओनसरी घर्तीमगर काठमाडौं-२ बाट पराजित भइन् । घर्ती राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भइन् । उनी यो निर्वाचन क्षेत्रमा चौथो भइन् । यस्तै, वहालवाल उर्जा मन्त्री माओवादी केन्द्रका नेतृ पम्फा भुषाल ललितपुर-३ बाट पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्की निर्वाचित भइन् । यो निर्वाचन क्षेत्रमा पम्फा तेस्रो भइन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीका शिशीर खनालसँग पराजित भए । प्रधान काठमाडौं ६ मा तेस्रो स्थानमा सीमित हुन पुगे ।
जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तीयाक राई ६ हजार ७५ मतान्तरले बाँके २ मा राप्रपाका धवलशमशेर जवरासँग पराजित भए । त्यस्तै नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि संसदमा प्रवेश गर्न पाउने छैनन् । झाँक्री गुल्मी-२ बाट एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भए ।
मकवानपुर–३ मा नेकपा एकीकृत समाजवादीका सचिव विरोध खतिवडा एमालेका युवा नेता महेश बर्तौलासँग पराजित भए । यस्तै, भक्तपुर-२ मा एमाले नेता महेश बस्नेत कांग्रेसका दुर्लभ थापा क्षेत्रीसँग पराजित भए । एमाले नेता अग्नी खरेल झापा १ बाट पराजित हुँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भए । त्यस्तै नेपाली कांग्रेसका नेता बलबहादुर केसी पनि सोलुखुम्बुबाट पराजित भएका छन् । केसीलाई नेकपा एमालेका मानवीर राईले पराजित गरेका हुन् ।