गुल्मीमा एमाले सचिव विष्टको तेस्रो जित, रामकुमारीले दिईन बधाई

गुल्मी — प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित भएका छन् । विष्टले नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतको अन्तरले पराजित गरेकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै गुल्मी–२ बाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन्। गुल्मी २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसंग पराजय भएकी उनले विष्टलाई बधाई दिँदै उनले गुल्मीको समग्र विकास र समृद्धिको यात्रामा सधैं साथमा रहने बताएकी छन्।

‘यो निर्वाचनमा विजयी मेरो आदरणीय दाजु अग्रज गोकर्ण विष्टलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना। गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा रहनेछु,’ उनले भनेकी छन्, ‘यो निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो। ज्ञानको हिसाबले कुनै प्रसिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिंधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी एक प्रकारको गलत प्रयोग गरिएको रहेछ नि, त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ।’

उनले आफ्नो पराजयलाई मैले अत्यन्तै सहज रूपमा लिएको बताएकी छन्। विष्टले झण्डै २ हजारको अग्रता कायम गर्दै जित हात पारेका हुन्। पछिल्लो परिणाम अनुसार एमालेका विष्टले २८ हजार ४ सय ७६ र उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी थिइन्।