काठमाडौं-१ मा प्रकाशमान सिंह विजयी, क-कसले कति मत ल्याए ?

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १३२ मतले हराउँदै विजयी भएका हुन् । कांग्रेस उम्मेदवार सिंहले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन् ।

यसअघि २०७४ को चुनावमा पनि प्रकाशमान र रवीन्द्र मिश्रबीच प्रतिस्पर्धा भएको थियो। त्यति बेला मिश्र ८१९ मतले पराजित भएका थिए । अघिल्लो चुनावमा विवेकशील साझाबाट तराजु चिह्न लिएर उठेका मिश्र यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरी हलो चिह्न लिएर उठेका हुन् ।

क-कसले कति मत ल्याए ?

सोमबार बिहान मतगणना सुरू भएदेखि नै काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा थियो । यी दुई उम्मेदवारबीच एकअर्कालाई उछिन्ने क्रम दिनभरि नै चलिरह्यो। थोरै मतले कहिले सिंह अगाडि हुन्थे, कहिले मिश्र ।

आखिरमा १३२ मतले प्रकाशमान सिंहले बाजी मारेका छन्। उनले ७१४३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७०११ मत पाएका छन् । कुल २७०१० मत खसेको यो क्षेत्रमा २११५ मत बदर भएको थियो । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो स्थानमा रहेका छन्। उनले नेकपा एमालेका किरण पौडेललाई उछिनेका छन् ।

पुकार बमले ४११२ मत ल्याएका छन् भने किरण पौडेलले ३५०८ मत ल्याएका छन् । नेपाल सुशासन पार्टीका रमेश खरेलले पनि ३१२१ मत ल्याएका छन् ।