दक्षिण कोरियामा हलोवीन पार्टीको भीडमा किचिएर १५१ जनाको मृत्यु
‘साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो’
सोल — दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । सो स्थानमा रमाइलो गर्न एक लाखभन्दा बढी मानिस जम्मा भएको अनुमान छ । मानिस जम्मा भएको साँघुरो ठाउँमा च्यापिएर १ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५४ जना पुरुष र ९७ जना महिला रहेका छन् । मृत्यु हुनेमध्ये चीन, उज्वेकिस्तान, इरान र नर्वेका १९ जना रहेका छन् ।
शनिबार राति भएको दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अधिकांश मृतक ३० वर्षभन्दा कम उमेरका रहेको कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा ८२ जना सख्त घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
‘सोलको चर्चित हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिर फैलिएको फराकिलो स्थानमा शनिबार स्ट्रिट कन्सर्ट भइरहेको थियो । मान्छे नै मान्छे थिए । एकाएक दुवैतिर भीड बढेर गल्लीमा बसेको मानिसलाई च्याप्दा त्यस्तो दुर्घटना भएको रहेछ,’ इथेवन नजिकै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका नेपाली गम्भीरमान श्रेष्ठले भने‚ ‘समाचार सुन्दा पत्याउनै गाह्रो । पहिलेपहिले पनि भीड हुन्थ्यो । कन्सर्ट हुन्थ्यो । तर‚ कोरोनापछिको रात्रिजीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै युवा निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ । समयमै भीड नियन्त्रण गर्न नसक्दा यस्तो घटना भयो ।’
शनिबार राति साढे दस बजे उक्त घटना भएको थियो । ‘हामी पनि त्यहाँ भरखरै पुगेका थियौं । धेरै क्लबहरूले डान्स पार्टी राखेका थिए । जता पनि मान्छे नै मान्छे थिए । दुर्घटना भएको समयमा हामी पनि नजिकै थियौं । एकाएक एम्बुलेन्स, प्रहरीको साइरन बजाउँदै गाडी ओहोरदोहोर गरेको देखियो । हामीले त आगो लागेछ कि भनेर सोचेका थियौं । पछि मात्र च्यापिएर मानिसको मृत्यु भएको भन्ने थाहा भयो‚’ सोलमा बस्दै आएका नेपाली अजय कार्कीले भने ।
इथेवन कोरियालीमाझ मात्र होइन कोरिया घुम्न आएका विदेशीलाई समेत आकर्षित गर्ने स्थान हो । कोरोना महामारीपछि इथेवन सहरको रौनक केही घटेको थियो । कोभिड-१९ महामारी फैलिएसँगै कोरियाको सरकारले उक्त स्थानमा बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । तीन जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने नियम बनेको थियो ।
योङसान प्रहरीको अपराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागूऔषधका कारण यस्तो घटना नभएको बताएका छन् । घटनापछि राष्ट्रपति युन सुक-योलले राष्ट्रिय शोक घोषणा गरेका छन् भने कुनैपनि हलोविन कार्यक्रमहरू नगर्न निर्देशन दिएका छन् । दक्षिण कोरियामा यसअघि सन् २०१४ मा भएको सेवल नामको पानीजहाज दुर्घटनामा ३ सय २५ जना विद्यार्थीसहित ४ सय मानिसको मृत्यु भएको थियो ।