सन्दीपमाथिको अनुसन्धान अझै टुंगिएन, थप दुई दिन हिरासतमा

काठमाण्डौ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि थप गरिएको समयसीमा सकिएसँगै अदालतले नेपाल प्रहरीको आग्रहमा थप दुई दिन अनुसन्धानका लागि समय थपेको हो । यसअघि पनि अनुसन्धानका लागि अदालतले असोज २० गतेबाट गणना हुने गरी २४ गते सात दिनको म्याद दिएको थियो । असोज २७ गते दोस्रोपटक पुनः सात दिन म्याद थप गरेको थियो भने कात्तिक २ गते थप चार दिनको समय थप गरी अनुसन्धानका लागि समय दिएको थियो ।

सञ्चारकर्मीहरूसँग बोल्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको आग्रहमा थप दुई दिनको म्याद थपिएको बताए। आजै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी रहेको पनि उनले बताए ।

‘दुई दिनको म्याद दिनुभएको छ । आज नै प्रहरी अधिकृतले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने भनिएको छ,’ उनले भने, ‘तिहार बिदाका कारण हामीले सोचेजस्तो अगाडि नै अभियोगपत्र आउने स्थिति छैन ।’

१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटेलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीप त्यसवेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।