मधेस प्रदेशमा कांग्रेसका तीन मन्त्रीलाई बर्खाष्त
जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेका छन् । कांग्रेसका तीनै जना मन्त्रीलाई पदमुक्त गरिएको पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रदेश प्रमुख कार्यालयलाई पठाइसकेको छ । संघीय सरकारले जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरूलाई बिहीबार पदबाट हटाएको भोलिपल्ट मधेसका मुख्यमन्त्री राउतले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेका छन् । यादव भौतिक पूर्वाधार तथा यातायात, शर्मा खानेपानी तथा सिञ्चाइ र सिंह महिला, बालबालिका तथा खेलकुद मन्त्री थिए ।
मधेस सरकारमा कांग्रेस, माओवादी(केन्द्र) र नेकपा एकीकृत समाजवादीसँग मिलेर जसपाले सरकारको कमान्ड सम्हालिरहेको छ । मुख्यमन्त्री राउतले कांग्रेसका मन्त्रीलाई पदमुक्त गरे पनि माओवादी र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हेरफेर गरेको छैनन् । बिहीबार राति मुख्यमन्त्री राउतले माओवादीका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहलाई फोन गरेर राजीनामा गर्न आग्रह गरेका थिए । तर शुक्रबार माओवादी र एकीकृत समाजवादीका मन्त्रीको पद कायम राखेर कांग्रेसका मन्त्रीलाई मात्र पदमुक्त गरिएको हो ।
मंसिर ४ गते हुने निर्वाचनमा जसपा र एमालेबीच गठबन्धन भएपछि संघीय सरकारमा रहेका जसपाका मन्त्री हटाइएलगत्तै मधेस प्रदेशले पनि कांग्रेसका मन्त्रीलाई पदमुक्त गरिदिएको छ ।