हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार
मनाङ — हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो ।
हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरिएको उनले बताए । उनका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्यटक गरी हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बाढीपहिराले गर्दा सडकमार्ग अवरुद्ध भएकाले अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए । गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।
बंगालको खाडीबाट विकसित हुँदै नेपाल प्रवेश गरेको मनसुनले गर्दा पर्यटक आवागमनको उपयुक्त समयमा पनि सडकमार्गको उपयोग गर्न समस्या भएको छ । सडकमार्गमार्फत यात्रा गर्न समस्या हुँदा मनाङमा पहिलोपटक एकै दिनमा एक सय २० पटक हेलिकोप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा एक सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो ।
मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण ती पर्यटक बीचबाटोमै अलपत्र परेका र सम्पर्कमा आएका पर्यटकलाई उद्धार गरिएको छ । मनाङको अन्नपूर्ण, गोरखाको मनास्लु, मुस्ताङको धवलागिरि क्षेत्रमा पर्यटक पुगेका थिए ।
आजदेखि मौमस क्रमिकरूपमा सुधार हुने सम्भावना
काठमाडौँ — नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ,’ उनले भने ।
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन अझै एक साता लाग्ने महाशाखाले जनाएको छ । हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।