रबिन्द्र मिश्रले साझा पार्टीबाट रजिनामा, राप्रपा भोली प्रबेश गर्ने

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राप्रपा प्रवेश गरेर काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् ।

‘झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ । अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ,’ मिश्रले राजीनामापत्रमा लेखेका छन्‚ ‘त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उनले विवेकशील साझा पार्टी छाड्ने निर्णय जीवनकै सबैभन्दा कठिनतम भएको बताए । मिश्रले दुईवटा ध्रुवको तीनवटा राजनीतिक दलमात्रै रहने दाबी गरेका छन् ।

‘नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्। ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने छ,’ उनले भने‚ ‘यी दुईबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ । तर समयक्रममा त्यो कि साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ ।’

राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूहबीच भोलि एकता हुने

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रविन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह राप्रपामा समाहित हुने निश्चित भएको छ । राप्रपा र रविन्द्र मिश्र समूहबीच भोलि बुधवार काठमाडौंमा एकता घोषणा सभा हुने निश्चित भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मिश्र राप्रपाको सहअध्यक्ष हुने बताइएको छ ।

पछिल्लो समय विचारभन्दा माथि देश अभियान चलाइरहेका मिश्रको एजेण्डा राप्रपासँग मिलेपछि राजेन्द्र लिङ्देन र उनीबीच पार्टी एकताको सहमति भएको हो ।