पाँच वर्षे कार्यकाल उतारचढावमै बित्यो, चमत्कारिक परिणाम आउने गरी खटिनुहोस् : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्षीय कार्यकाल उतारचढावमा बितेको बताएका छन् । शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा चमत्कारिक परिणाम आउने गरी गाउँगाउँमा खटिन आग्रह गरेका हुन् ।
उनले भने,‘मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ ।’ ओलीले भोलिदेखि संसदको कार्यकाल सकिने बताउँदै सांसदहरुलाई निर्वाचनमा खटिन आग्रह गरेका हुन् । उनले भोलिदेखि संसद नरहने भन्दै आफ्ना सांसदहरुलाई भोलिदेखि नै निर्वाचका लागि गाउँ-गाउँ जान निर्देशन दिएका छन् ।
आफूहरु गठबन्धनका विरुद्ध एक्लै लड्नुपर्ने अवस्था आएकोले आफ्ना उम्मेद्वारलाई जिताउन निर्देशन दिएका थिए ।
सरकारमा रहँदा गरेका काम लिएर जनतामा जानुस्
त्यस्तै अध्यक्ष ओलीले सरकारमा रहँदा हामीले आफूहरुले गरेको काम लिएर जनतामा जान सांसदहरुलाई निर्देशन दिएका छन् । संसदीय दलको यो कार्यकालको अन्तिम बैठकमा उनले आफूले टिकट पाउँदा जित्ने र अरुले पाउँदा जिताउने गरी क्रियाशील हुन निर्देशनसमेत दिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अध्यक्ष ओलीले पाँचवर्षे कार्यकालमा संसद्मा खेलेको भूमिकाका लागि सांसदहरुलाई धन्यवाद दिएका थिए ।
यस्तै, सरकारले संसद्को कार्यकाल लम्ब्याउन अनेकन् प्रपञ्च गरेको भए पनि आगामी चुनावका लागि नामाङ्कन दर्ता गरेको दिनदेखि यो संसद्को कार्यकाल समाप्त हुने ओलीले बताएका भट्टराईको भनाइ छ । भट्टराईका अनुसार ओलीले गाउँगाउँमा चुनाव जित्ने योजना बनाउन पनि निर्देशन दिएका छन् ।
“जनताले एमालेलाई चुनाव जिताएर बहुमतको सरकार बनाउने उत्कट चाहना राखेको हुनाले जनताको आवाजलाई सम्मान गर्दै गाउँ गाउँ पुगेर पार्टी निर्माण र निर्वाचन जित्ने योजना बनाउन निर्देशन गर्नुभयो,” भट्टराईले भने ।