बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै भवन खरिद

बर्कसायर । रिडिङ स्थित बुध्दिष्ट गुम्बा रिडिङ यूकेले पनि आफ्नै नयाँ भवन खरीद गरेको छ । बुध्दिष्ट गुम्बा रिडिङको महासचिब कमल क्वोने गुरुङको अनुसार सम्भवत: बेलायतमा रहेका अन्य गुम्बाहरु भन्दा तुलनात्मक रुपमा बुध्दिष्ट गुम्बा रिडिङ यूकेले धेरै क्षेत्रफल भएको बिशाल भवन किन्न सफल भएको कुरा खबर यूकेलाई जानकारी गराउनुभयो ।

गत अगष्ट महिना २ तारिख श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी)को शुभ दिन पारेर गुम्बाले भवन खरिद गरेको थियो । महासचिब कमल क्वोने गुरुङका अनुसार त्रिरत्नको अधिष्ठान, बोधिसत्त्व तथा महासत्त्व गुरु कल्याण मित्रहरुको असिम कृपा र करुणा साथै मन मनमा कुबेर देवता (आर्य झम्पला)ले बास गर्नुभएका श्रद्धालू भक्तजन र शुभेक्छ्युकहरुको साथ सहयोग र समर्थनले बिशाल भवन खरिद गर्न सफल भएको कुरा खबर यूकेका सदस्य ईन्द्र घोथाने गुरुङलाई जानकारी गराउनुभयो । दिन दुई गुना रात चार गुनाको अथक प्रयासबाट बेलायतको रिडिङ्गमा बुध्द भगवानको श्रध्दाको धरोहर पवित्र बौद्ध गुम्बा निर्माण गर्ने उध्देश्यले विशाल घर खरिद गर्न सफल भएको कुरा जानकारी गराउनुभयो ।

गुम्बाको लागि भवन खरिद गर्न सफल भएको उपलक्ष्यमा उक्त दिन बुद्धिस्ट गुम्बा रिडिङ्ग युकेका अध्यक्ष ई. खेम बहादुर गुरुङले सम्पूर्ण सदस्यहरुलाई र भक्तजनहरुलाई बधाई तथा स्याई स्याई-स्याई (अशिर्बाद दिएको) गरेको थियो ।

आठ लाख साठी हाजर पाउन्ड मुल्य बराबरको भवन हाल मर्मत सम्भार भईरहेको छ । भवनमा माने, बुध्द भगवानको मुर्ती, थांकादेखि पूजा स्थान आदी बनाउने कार्य तिब्र रुपमा भईरहेको छ । तुलनात्मक रुपमा ठुलो क्षेत्रफल र बिशाल भवन भएकोले बिभिन्न धार्मिक कार्यदेदेखि पित्री कार्यहरु गर्न यथेष्ट स्थान र उपयुक्त हुने महासचिब गुरुङले जानकारी गराउनुभयो ।

त्यस्तै, बुध्दिष्ट गुम्बा रिडिङ यूकेलाई भवन खरिद गर्न सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाता, सुभेक्छ्युक तथा भक्तजनहरुलाई धन्यवाद दिन गुम्बाको मुल गुरु खेन रिम्पोछे शिर लामा गुरुङको बाहुलीबाट अगामी हप्ता १७ सेप्टेम्बर २०२२ साल शनिबार खातासहित आशिर्बाद तथा धन्यवाद दिने कार्यक्रम रहेको हुँदा श्रध्देय गुरु खेन रिम्पोछे दिब्य प्रबचन सुन्न र प्रसाद ग्रहण गर्न आउनुहुन समस्त चन्दादाता, सुभेक्छ्युक तथा भक्तजनहरुलाई निमन्त्रणा गरेको छ ।