महारानी एलिजाबेथ द्वित्तिया चिकित्सकको निगरानीमा

बेलायती महारानी एलिजाबेथ द्वित्तिया स्कटल्याण्ड स्थित बाल्मोरल महरमा चिकित्सकको निगरानीमा रहेको कुरा बकिङ्गघम दरबारले जनाएको छ । महारानीको स्वास्थ्यमा गम्भीर समस्या देखिएकोले महारानीलाई चिकित्सकको सशक्त निगरानीमा राखिएको कुरा प्रेस बिज्ञप्तीमा जनाइएको छ । छयानब्बे वर्षीया महारानीलाई बिरामी भएको खबर भएपछी महारानीका सबै सन्तानहरू र परिवारका सदस्यहरु एबर्डिन नजिकै रहेको महारानीको निवास बालमोरल क्यासलमा (महलमा) पुगेका छन् वा पुग्ने क्रममा छन् ।

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान गरिएको थप मूल्याङ्कन वा निरिक्षणमा महारानीको स्वास्थ्य चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा रहन सुझाएका थिए।” साथै महारानी “सहज” अवस्थामा रहेको उक्त विज्ञप्तिमा थप भनिएको छ ।

बकिङ्गघम दरबारले यस्तो विज्ञप्ति जारी गर्नु निकै अस्वाभाविक मानिन्छ । दरबारले निजी विषयका रूपमा हेरिने महारानीको स्वास्थ्य अवस्थाबारे प्राय: टिप्पणी गर्न रुचाउँदैन । महारानीको स्वास्थ्य अवस्था बिग्रिएपछि छोरा प्रिन्स चार्ल्स, बुहारी क्यामिला, छोरी आन, नाती प्रिन्स विलियम सहितका राजपरिवारका कयौं सदस्यहरु स्कटल्याण्ड पुगेका छन् । प्रिन्स ह्यारी र उनकी पत्नी मेगन पनि स्कटल्याण्ड जाँदै गरेको उल्लेख गरिएको छ ।

अस्ति मात्र नियुक्ती पाएका प्रधानमन्त्री लिज ट्रसले “सिङ्गो राष्ट्रलाई” यो समाचारले “गहिरो चिन्ता” पार्ने बताएकी छन् । उनले थप भनेकी छन्, “मेरो र हाम्रो यूकेभरिका मानिसहरूको प्रार्थना यस समयमा महारानी र उनको परिवारसाथ छ।”

महारानीले लिज ट्रसलाई लन्डन बकिङ्गघम दरबार सट्टा स्कटल्याण्डको बाल्मोरलमा प्रधानमन्त्रीको रूपमा पदबहाल गराएकी थिइन् ।