नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरको शहरी व्यवस्थापन विभागले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन भनेको हो ।
‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भवन निर्माणसम्बन्धी प्रचलित मापदण्डअनुकूल भएका, तर नक्सा पास नगरी निर्माण गरिएका सीमा पर्खालको नियमित प्रयोजनार्थ नक्सा पेस गर्न तथा ३५ दिनभित्र प्रचलित भवन निर्माण मापदण्डविपरीत बनाइएका सीमा पर्खाल हटाउन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । हटाउँदा लागेको खर्चसमेत घरधनीबाट असुल गरिने व्यहोरा सम्बन्धित घरधनीलाई सूचना जारी गरिन्छ,’ सूचनामा लेखिएको छ ।