साफ महिला च्याम्पियनसीपमा नेपालको बिजयी सुरुवात

काठमाडौं, भदौ २१ गते । काठमाडौं, भदौ २१ गते । अनुभवी खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरेपछि नेपालले छैटौं साफ महिला च्याम्पियनसिप फुटबलमा सुखद सुरुवात गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलले हरायो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भवना बलियो बनाएको छ ।

पहिलो हाफ वर्षाले विथोलेको खेलमा दोस्रो हाफमा भने नेपालले राम्रो प्रदर्शन गरेको थियो । भुटानमाथि अन्तर्राष्ट्रिय फुटबलमा अपराजित लय कायम राख्ने क्रममा नेपालका लागि सावित्राले १२औं मिनेटमा खाता खोल्नुभयो । दोस्रो हाफमा लय मातेको नेपालका लागि ६८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

सावित्राको यो नेपालका लागि ४०औं गोल हो । उहाँ सर्वाधिक गोल गर्ने महिला खेलाडीको शीर्षस्थानमा हुनुहुन्छ । तीन बर्षपछि टोलीमा फर्किनु भएकी सावित्राले भुटानविरुद्ध दमदार प्रदर्शन गर्नुभयो । २०७७ सालमा घुँटामा लागेको चोटका कारण उहाँ लामो समय बाहिर हुनुहुन्थ्यो ।

यसैगरी ७३औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता बलियो बनाउनुभयो । उहाँले डिबक्सभित्र भुटानका दुई रक्षकलाई विटगर्दै सोझै गोल गर्नुभएको थियो । त्यसपछि ८५औं मिनेटमा अनिताले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई सजिलै जिताउनुभयो । उहाँ ‘प्लेयर अफ दि वामन’ चुनिनुभयो ।

जितसँगै नेपालले तीन अंक बनाएको छ । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल भदौ २७ गते श्रीलंकासँग खेल्नेछ । बुधबार समूह ‘ए’ मा रहेको भारत र पाकिस्तान तथा बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभएको थियो ।

प्रदर्शनबाट सन्तुष्ट छौं : प्रशिक्षक थापा

खेलपछि नेपाली टालीका प्रशिक्षक कुमार थापाले पहिलो हाफ पानीले विथोल्दा सोचेजस्तो प्रदर्शन नभएको बताउनुभयो । ‘‘सुरुमा भारी वर्षाले खेल्न सकेनौं । पानीकै कारण समयमा गोल निस्किएन । तर दोस्रो हाफमा खेलाडीले राम्रो खेले । दोस्रो हाफमा योजना अनुसार खेल्यौं । खेलाडीले आफ्नो सेट र बल पोसेसन राखेर खेलेका छन् । साना तिना गल्ती भएपनि समग्रमा आजको प्रदर्शनबाट सन्तुष्ट छु । डेब्यु गरेका खेलाडीले पनि आफ्नो भूमिका राम्रो निभाए । भुटान दोस्रो हाफमा रक्षात्मक भएपछि हामीलाई केही सहज भयो,’’थापाले भन्नुभयो ।

उहाँले श्रीलंकाविरुद्ध पनि यही सेट र लयमा खेल्ने बताउनुभयो । भुटानविरुद्ध नेपालका तीन खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू गर्नुभएको छ । डेब्यू गर्नेमा दीपा शाही, अमिषा कार्की र समीक्षा घिमिरेले हुनुहुन्छ ।

यसैगरी ‘प्लेयर अफ दि वामन’ घोषित अनिता बस्नेतले पानीका कारण पहिलो हाफमा खेल्न गाह्रो भएको बताउनुभयो । ‘‘समग्रमा हामीले राम्रो खेल्यौं । पहिला गुमेको मेरो फर्म पनि विस्तारै आउँदै छ । आज दुई गोल गर्न सकें । आगामी खेलमा अझै राम्रो गर्नेछे,’’बस्नेतले भन्नुभयो ।

भुटानकी सहायक प्रशिक्षक टंकमाया घलेले नेपालको तुलनामा भुटानका खेलाडीले खेल्न नसकेको बताउनुभयो । ‘‘नेपाल शारिरिक रुपमा धेरै बलियो रह्यो । हामीले पहिलो हाफमा रोकेपनि दोस्रो हाफमा दबाब झेल्यौं । अर्को खेलमा राम्रो गर्ने छौं,’’ घलेले भन्नुभयो ।