प्रधानमन्त्री पत्नि आरजु राणा कैलाली-५बाट उम्मेदवार
काठमाडौँ — आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि कैलाली क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ ।
बुधबार क्षेत्र नं. ५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ ।
कैलाली-५ का सभापति भीम पडालले बुधबार दुवै प्रदेशबाट प्रतिनिधिसभाका लागि राणाको मात्रै नाम सिफारिस भएर आएको बताए । उनका अनुसार क्षेत्रीय कार्यसमितिको बैठक बिहीबार बस्दैछ । क्षेत्रीय कार्यसमितिमा पनि राणाको नाम सिफारिस गर्न दबाब छ ।
कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले कैलाली-५ बाट प्रतिनिधिसभाका लागि आरजु राणाको नाम एकल सिफारिस हुने बताए । ‘प्रदेश कार्यसमितिले एकल सिफारिस गर्न निर्णय गरिसकेका छन् । अब प्रतिनिधिसभा क्षेत्रले पनि त्यही निर्णय गर्छ,’ उनले भने, ‘यहाँबाट एकल सिफारिस हुन्छ ।’
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणा ०७४ को निर्वाचनमा पनि यहीँबाट उम्मेदवार थिइन् । उनी वाम गठबन्धनका नारदमुनि रानासँग पाँच हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन् । रानाले २७ हजार २०२ मत ल्याएका थिए भने राणाले २२ हजार ३२२ मत पाएकी थिइन् ।
त्यसै गरी संघिय समानुपातिकका लागि पनि महिला तर्फबाट जीवन राना सर्वसम्मत एकल उम्मेदवार बनेकी छन् । उनी अघिल्लो पटक एमाले उम्मेदवार नेपालु चौधरीसँग प्रत्यक्षमा पराजित भएकी थिइन् ।
प्रदेशमा को-को सिफारिस ?
त्यस्तै प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकमा सर्वसम्मत भएपनि प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकमा भने दुई दर्जन बढीले दाबी गरेका छन् । बुधबार नेपाली काँग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले प्रदेशको प्रत्यक्ष र समानुपातिक तर्फ २६ जनाको नाम उपल्लो समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
यसै गरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ ।
जसमा उद्धबबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्बादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमीला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुन मगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरिएको हो ।