केन्यालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

एजेन्सी । घरेलु टोली केन्याविरुद्ध पाँच खेलको टी–२० सिरज नेपालले जितेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले कब्जा गरेको हो ।

जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रनमा समेटिएको थियो । केन्याका लागि नेहेमिह ओधिएम्बोले सर्वाधिक ३७ रन बनाउनुभयो ।

कप्तान सेन एन्गोचेले अविजित ३३, इरफान करिमले २८, कोलिन्स ओवुयाले २३ र नेल्सोन ओधिएम्बोले अविजित १३ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमदले दुई दुई विकेट लिनुभयो । करण केसी, आदिल आलम र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झार्नुभयो ।

यसअघि ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ सहयोगमा नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७५ रन बनाएको थियो । सम्हालिएको ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ५९ रन बनाउनुभयो । उहाँले ४४ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । मल्ल प्लेयर अफ दि म्याच बन्नुभयो । रोहित पौडेलले ४७, अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो ।

बलिङमा केन्याका नेहेम्याह ओडिम्बो, सेम नेगोचे र भिराज पटेलले दुई दुई विकेट लिनुभयो । लुकास ओलुचले एक विकेट लिनुभएको थियो । पाँच खेलको टी–२० सिरिजमा नेपालले पहिलो खेलमा पाँच विकेट र तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।

कमजोर ब्याटिङका कारण नेपाल दोस्रो खेलमा १८ र चौथो खेलमा सात रनले पराजित भएको थियो । नेपालले अब केन्यासँग भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज खेल्नेछ ।

सन्दीप बने म्यान अफ दी सिरिज

केन्यासँगको पाँच टी–२० श्रृंखलामा नेपाली कप्तान सन्दीप लाछिाने म्यान अफ दी सिरिज भएका छन् । सिरिजमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै सन्दीप म्यान अफ दी सिरिज भएका हुन् । उनले पाँच खेलमा सर्वाधिक १२ विकेट लिए । सन्दीपले दोस्रो खेलमा पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा पाँच विकेट लिएका थिए । यसक्रममा उनले केवल नौ रन मात्र दिए ।

सन्दीप तेस्रो खेलमा मात्र विकेटविहीन भए । उनले पहिलो खेलमा २६ रन खर्चेर दुई विकेट तथा तेस्रो खेलमा २६ रन खर्चेर तीन विकेट हात पारे । पाँचाैँ खेलमा सन्दीप आफ्नो अन्तिम स्पेलमा खर्चिलो देखिए । यद्यपि, उनले ३३ रन खर्चेर दुई केन्याली ब्याट्सम्यानलाई आउट पार्न सफल भए । सन्दीपले सिरिजमा कुल ११ रन बनाए ।

मल्ल दोस्रोपटक म्यान अफ दी म्याच

नेपालले पाँचौँ खेलमा केन्यालाई हराउन पूर्वकप्तान ज्ञानेन्द्र मल्लको योगदान मुख्य रह्यो । उनले प्रतियोगिताकै पहिलोपटक तथा करिअरकै दोस्रो अन्तर्राष्ट्रिय टी–२० अर्धशतकीय योगदान दिँदा नेपालले २० ओभरमा सात विकेटको नोक्सानीमा एक सय ७५ रनको विशाल योगफल खडा गरेको थियो ।

प्रत्युत्तरमा केन्याले २० ओभरमा सातै विकेट गुमाएर एक सय ४४ रन जोडेको थियो । ज्ञानेन्द्रले ५९ रन बनाउन ४४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । यसै प्रदर्शनका कारण उनी अन्तिम खेलकै म्यान अफ दी म्याच भए । यसअघि तेस्रो खेलमा पनि उनी खेलकै उत्कृष्ट खेलाडी बनेका थिए ।