फोहोर ब्यवस्थापनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो : मेयर शाह

‘हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत मेयर शाहले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताएका हुन् । मेयर शाहले काठमाडौंको फोहोर विसर्जनमा सत्तारुढ दलका स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका छन् । त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरुद्ध पार्न सघाएको उनले आरोप लगाएका छन् ।

सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको उनले बताएका छन् । सोमबार २०३ वटा गाडीले फोहोर विसर्जन गरेको उनले जानकारी गराएका छन् । फोहोर व्यवस्थापनमा तत्काल देखिएका समस्या सतही मात्रै भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो । यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

फोहोर व्यवस्थापनमा विगतमा भएका गल्ती नदोहोर्‍याउने भन्दै उनले भनेका छन्, ‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापर्वाही र त्यो क्षेत्रको दूरावस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बन्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’

त्यस्तै अहिलेको मुख्य काम पनि स्वार्थ नभई फोहोर व्यवस्थापन भएको उनले बताएका छन् । उनले अगाडि भनेका छन्, ‘व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो । आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।’

सत्तारुढ दलका स्थानीय नेताहरूले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरुले सोमबार बिहानैदेखि धुनिबेंसी–१ ढाडेमा फोहोर बोकेका गाडीलाई रोकेका थिए । सोमबार दिउँसो प्रहरी परिचालन गरी अवरोध हटाएर फोहोर विसर्जन गरिएको थियो । त्यस्तै बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू गत सोमबार राति तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको थियो ।

बन्चरेडाँडामा बिनाअवरोध फोहोर विसर्जन भइरहेको छ : काठमाडौं

काठमाडौँ — धादिङको धुनिबेंसी–१ स्थित बन्चरेडाँडा ल्यान्डफिल साइटमा मंगलबार बिनाअवरोध फोहोर विसर्जन भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मंगलबार बिहानैदेखि काठमाडौंबाट गाडीहरू निर्वाध रूपमा गइरहेको बताए ।

सोमबार बिहान धुनिबेंसी-१ मा सत्तारुढ दलकै नेता कार्यकर्ता र स्थानीयले अवरोध गरे पनि दिउँसो प्रहरी परिचालन गरी फोहोर विसर्जन गरिएको थियो । मेयर बालेन्द्र शाहले सोमबार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको जानकारी दिएका थिए । मंगलबार भने बिहानैदेखि फोहोर बोकेर काठमाडौंबाट ल्यान्डफाइल साइटमा गाडीहरू गइरहेको प्रवक्ता मानन्धरले बताए । इकान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘बिहान म आफै साइटमा पुगेर आएको हुँ । आज कतै पनि अवरोध छैन । जानुपर्ने गाडीहरू गइरहेका छन् ।’

धादिङ प्रहरी र नुवाकोट प्रहरीले पनि बाटोमा कुनै अवरोध नभएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी रमेश पण्डितले नुवाकोटतर्फ कुनै अवरोध नभएको बताएका छन् । उनले भने, ‘नुवाकोटतिर कुनै अवरोध छैन । धादिङतिर केही स्थानीयहरू डाँडामा चढेर बसेको भन्ने सुनिएको छ । तर अवरोध भएको भन्ने खबर छैन ।’

त्यस्तै धादिङको खानीखोला प्रहरी चौकीका प्रहरी निरीक्षक अपूर्व ढुंगानाले पनि धादिङतर्फ कुनै अवरोध नभएको बताएका छन् । उनले भने, ‘फोहोरका गाडीहरू आइरहेकै छन् । कुनै अवरोध छैन ।’ जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बन्चरेडाँडा ल्यान्डफिल साइटमा जीवनपुर प्रहरी चौकीबाट एउटा टोली सुरक्षामा खटाइएको छ ।