पूर्वराष्ट्रपति ट्रम्पको निवासमा एफबीआईको छापा
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्डको घरमा अमेरिकी गुप्तचर निकाय एफबीआईले छापा मारेको छ । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै एफबीआईले आफ्नो फ्लोरिडास्थित घरमा छापा मारेको बताएका हुन् । ट्रम्पको सरकारी काजगात आफैंले राखेको विषयमा अनुसन्धानको क्रममा उनको घरमा छापा मारिएको हो । सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेको समयमा ट्रम्पको घरमा सुरक्षाकर्मीले छापा मारेका हुन् ।
सीएनएनका अनुसार सोमबार एफबीआईले आफ्नो घरमा छापा मार्दा ट्रम्प भने न्युयोर्कस्थित ट्रम्प टावरमा थिए । ‘यो हाम्रो मुलुकको कालो दिन हो’, ट्रम्पले विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आफ्नो घरमा पूर्व जानकारी विना नै छापा मार्नु आवश्यक नरहेको पनि दाबी गरेका छन् ।
उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन् । ट्रम्पले अहिले अमेरिका अहिलेसम्मकै भ्रष्ट बनेको आरोपसमेत लगाएका छन् । एफबीआईले आफ्नो सेफ पनि फोडेको ट्रम्पले बताएका छन् । उता एफबीआईले पनि ट्रम्पको घरमा विना कुनै जानकारी छापा मारिएको पुष्टि गरेको छ ।