गठबन्धन होइन, एउटै पार्टी भईसक्यो जुन कांग्रेस निर्देशित छ : अध्यक्ष ओली

‘गठबन्धनका दल एक्लै चुनाव लड्नै सक्दैनन्’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका कुनै पनि दलसँग एक्लै चुनावमा जाने हिम्मत नभएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालद्वारा आइतबार आयोजित कार्यक्रममा ओलीले डुब्न लागेकाहरू गठबन्धनको त्यान्द्रो समातेर ज्यान जोगाउन खोजिरहेको आरोप लगाए ।

‘उनीहरूको नसिबमै गठबन्धन लेखेको छ,’ ओलीले भने,‘डुब्तेको सिन्केका सहारा भनेको जस्तै उनीहरूलाई बाँच्नका लागि गठबन्धनरुपी त्यान्द्रोको सहारा चाहिएको छ । डुब्न लागेकाहरू एउटाले अर्कालाई तानिरहेका छन्। तर, यिनीहरू सबै डुब्छन् ।’ गठबन्धनका दलहरूमा एक–अर्काप्रति अविश्वास रहेको उनको भनाइ छ ।

‘बिहान भन्छन्, हामीलाई हेप्यो, यस्तै चाल हो भने अर्को मोर्चा बनाउँछौं । दिउँसो अलिकति डराउँछन्। होइन, यो मोर्चा त कायमै राख्नुपर्छ भन्छन्। बेलुकातिर यो गठबन्धन चुनावपछिसम्मै कायम राख्नुपर्छ भन्छन् । राति सुत्छन् । छटपटी हुन्छ । के गरेर जोगिने होला भनेर सोच्न थाल्छन् । अनि बिहान उठेर फेरि धम्क्याउँछन्,’ उनले भने। ओलीले यो गठबन्धन पार्टीको रूपमा गइसकेको उल्लेख गरे । उनले थपे, ‘यो कांग्रेस निर्देशित विचार समूह हो। यो कम्युनिस्ट, प्रगति, राष्ट्रियता र लोकतन्त्र विरोधी समूह हो,’ उनले भने, ‘यससँग हामीले लड्नुपर्छ। एक्लै लड्न सक्षम छौं ।’

एक वर्षको अवधिमा देशको अर्थतन्त्र र विकास डामाडोल भएको उनको भनाइ छ। उनले एमाले सरकारको पालामा बन्दै गरेका पुलबाहेक यो सरकारले कुनै बाटोघाटो, सडक, पुल बनाउन नसकेको आरोप लगाए। उनले भने, ‘एउटा पुल पनि बनेको छैन। केही पनि थपिएको छैन । बन्दै गरेको पुलबाहेक केही बनेको छैन। तैपनि बजेट थपेको छ,’ देशको अर्थतन्त्र ओरालो लागेको उनको भनाइ छ ।

उनले गठबन्धन सरकारको अस्तित्व नै समाप्त भएकाले अब सरकारमा एमाले आउनुपर्नेमा जोड दिए । उनले अस्तित्व सकिएपछि गठबन्धनमा आवद्ध दलहरू एमालेविरुद्ध लागेको आरोप लगाए । उनले संघ र प्रदेश सभा निर्वाचनमा एमाले बहुमतका साथ अघि आउने दाबी गरे ।