मेयर हर्क साम्पाङले दिए कार्यकक्ष तोडफोड गर्ने २ जनाविरुद्ध किटानी जाहेरी
धरान उपमहानगरपालिका प्रमुख (मेयर) हर्क साम्पाङले २ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । नगर प्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौज गरेको भन्दै मेयर साम्पाङले २ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । केही दिनदेखि आन्दोलित बनेका बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडितहरूले आइतवार मेयर साम्पाङको कार्यकक्ष तोडफोड गरेका थिए । सहकारीबाट ठगीएका पीडितहरूको संघर्ष समितिले नाराबाजी गर्दै उनको कार्यकक्षको झ्याल तोडफोड गरेको थियो ।
मेयर साम्पाङले ‘मलाई सोधेर रकम राखेको’ भनेर जवाफ फर्काएको भन्दै आक्रोशित समूहले कार्यकक्षमा तोडफोड गरेको थियो । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्ध श्रेष्ठले अदालतबाट पक्राउ पुर्जी लिइसकिएको बताए । उनले जाहेरीमा उल्लेख भएका नाम भने खुलाउन चाहेनन् । आरोपीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले बताएका छन् ।
बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदीप बाँस्तोलाविरुद्ध जाहेरी परेको मेयर निकट स्रोतले जनाएको छ । मेयर साम्पाङले भने आन्दोलनका पछाडि राजनीति जोडिएको बताए ।
धरानका मेयरविरुद्ध प्रतिरक्षामा उत्रने एमालेको चेतावनी
नेकपा एमाले धरान उपमहानगर कमिटीले मेयर हर्कराज राईका पछिल्ला अभिव्यक्तिमाथि आपत्ति जनाएको छ । स्थानीय बराह ऋण सहकारी संस्थालाई लिएर विभिन्न सामाजिक सञ्जालमा एमालेविरुद्ध अनर्गल प्रचारबाजी गरेको र जातीय सद्भाव बिगार्न खोजेको आरोप लगाउँदै उसले गम्भीर ध्यानाकर्षण भएको बताएको हो । बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर एमाले केन्द्रीय सदस्य तथा सुनसरी सह–इञ्चार्ज मञ्जु भण्डारी सुवेदी र सिंगो एमालेलाई बद्नाम गराउन नगर प्रमुख लागेको एमालेको ठहर छ ।
एमाले नगर कमिटी अध्यक्ष हर्कजंघ एभेङ्गद्वारा जारी विज्ञप्तिमा नगर प्रमुखका पछिल्ला गतिविधिले सिङ्गो धरानबासीको गरिमा खस्किएको जनाउँदै दलीय व्यवस्था, संघीयता र जातीयद्वेष फैलाउने कार्य नगर्न भनिएको छ । आइतबारको नगरपालिका कार्यालय तोडफोड गलत भएको तर सहकारी पीडितले उठाएको विषयप्रति दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण उक्त घटना हुन पुगेकाले सम्पूर्ण जिम्मा नगर प्रमुखलेनै लिनुपर्ने एमालेको ठहर छ ।
विज्ञप्तिमा धरानमा स्वतन्त्र नारा लगाएर सत्तामा पुग्ने वातावरण राजनीतिक दलले बनाइदिएको र राजनीतिक दल, दलका कार्यकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति धावा नबोल्न चेतावनी दिइएको छ । प्रतिशोध साँध्ने र व्यवस्था नै कमजोर बनाउन खोजे एमाले प्रतिरक्षामा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।