विप्लव-प्रकाण्डसहित दर्जन बढी नेताका नाममा पक्राउ पुर्जी जारी
३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश
नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
विप्लवसहित सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, भरतबहादुर बम, सुरेश रानामगर, पदम राई, उदयबहादुर चलाउनेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरुलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन भनिएको छ । उनीहरुविरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्यविरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुर गरेको मुद्दा छ । उनीहरूमाथि लागेका यी मुद्दामा म्याद बेपत्ते तामेल भएको भन्दै २०७९ साउन ६ गतेको आदेशअनुसार पक्राउ पुर्जी जारी गरेको ललितपुर अदालतले जनाएको छ ।
भूमिगत रही सशस्त्र गतिविधि गर्दै आएका विप्लव २१ फागुन २०७७ मा केपी ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।