प्रधानमन्त्री देउवालाई अनुकूल समय मिलाएर अमेरिकाको भ्रमण गर्न बिदेशमन्त्री लुको अनुरोध
भ्रमणको अनुकूलता संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा कि त्यो भन्दा फरक समय भन्ने अझै अस्पष्टै
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेको बेला यसबारे अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग पनि कुरा भएको छ । नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लुसँग देउवाले उपयुक्त समयमा भ्रमण गर्ने बताएका छन् । तत्काल देउवाको भ्रमण नै अब नहुने भन्ने चर्चा चुलिइरहेका बेला शुक्रबार यो विषयमा लुसँग पनि कुरा भएको हो । भेटवार्तामा प्रधानमन्त्री देउवाले अनुकुल समयमा भ्रमण गर्ने बताए ।
‘उक्त अवसरमा प्रधानमन्त्री (देउवा) ले उपयुक्त र अनुकुल समय मिलाएर भ्रमण गर्ने बताउनु भयो,’ प्रधानमन्त्रीको प्रेस प्रमुख गोविन्द परियारले कान्तिपुरसँग भने,‘अनुकुल समयमा प्रधानमन्त्रीजीको अमेरिका भ्रमण हुन्छ । गृहकार्य भइरहेको छ ।’ प्रधानमन्त्री देउवालाई गत वर्षको चैत २५ मा अमेरिका भ्रमणको निम्तो आएको थियो । तर दुवै पक्षलाई अनुकुल हुने गरि उपयुक्त समय खोजीमा नेपाल र अमेरिकी सरकार रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।
‘प्रधानमन्त्रीको अमेरिका भ्रमणको सम्बन्धमा दुवै पक्षबीच अनुकुल मितिबारे कुरा भइरहेको छ । दुवैलाई अनुकुल हुने मिति अहिलेसम्म तय भएको छैन,’ साउन ४ को नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनेकी थिइन् । त्यसअघि असार २० मा पनि प्रवक्ता लम्सालले प्रधानमन्त्रीको भ्रमण अपेक्षित भन्दै विभिन्न चरणमा गृहकार्य गर्नु पर्ने भएकोले मिति तय हुन समय लाग्ने बताएकी थिइन् ।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण सुरुमा असार अन्तिम साता हुने गरि गृहकार्य भएको थियो । तर दुवै मुलुक बीचमा अनुकुल हुने समय नमिल्दा भ्रमण धकेलिँदै गएको हो । परराष्ट्रका अधिकारीका अनुसार भ्रमण कहिले हुन्छ भन्ने विषयमा अझै पक्का भइसकेको छैन । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अघि नबढाउने भन्ने निर्णय असार ६ मा गरेको थियो । त्यस अघि संम्भव देखिएको प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण त्यसपछि क्रमिक रुपमा पछि सर्दै गएको हो । तर नेपालले साउन ९ मा अमेरिकालाई एसपीपी अस्वीकार गर्ने सम्बन्धमा पत्राचार गरिसकेपछि अब भ्रमण कहिले हुन्छ भन्ने बारेमा अझै गृहकार्य भइरहेको हो ।
सत्ता गठबन्धनको एक पार्टी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले त सार्वजनिक कार्यक्रममै एसपीपी अस्वीकार गर्ने भएपछि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका थिए । तर गठबन्धनकै अर्का नेता तथा जसपाका अध्यक्ष उपेन्द्र यादवले भने आन्तरिक राजनीतिक घटनाक्रमको कारण आफूहरुले प्रधानमन्त्री देउवालाई अहिले अमेरिका भ्रमण गर्न उपयुक्त समय नभएको सल्लाह दिएको बताएको दाबी गरेका थिए ।
साउन ४ कै पत्रकार सम्मेलनमा परराष्ट्रकी प्रवक्ता लम्सालले अगामि सेप्टेम्बरमा हुने संयुक्त राष्ट्र संघको ७७ औं महासभामा नेपालको तर्फबाट उच्च तहको सहभागिता हुने गरि गृहकार्य भएको बताएकी थिइन् । तर उनले प्रधानमन्त्री नै उक्त भ्रमणमा जाने वा नजाने भन्ने विषय भने मन्त्रिपरिषद्ले निर्णय गर्ने बताइन् । जसलाई देउवाको संभावित र ‘उपयुक्त समय’ को अमेरिका भ्रमणको रुपमा पनि हेरिएको छ ।
एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो- अमेरिकी राजदूतावास
‘हामी सरकार (नेपाल) को निर्णयलाई पूर्णरुपमा स्वीकार छौं’
काठमाडौँ — स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफियर्स प्रमुख ग्यारेट विल्करसनले कान्तिपुरलाई प्रतिक्रिया दिँदै उक्त जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए । मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । उक्त पत्राचारको सम्बन्धमा कान्तिपुरले अमेरिकी राजदूतावासमा राखेको जिज्ञासामाथि पब्लिक अफियर्स प्रमुख विल्करसनले जवाफ दिएका हुन् ।
‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन् ।