प्रथम महानगर मेयर सम्मेलन सुरु, सम्मेलनस्थलमा पत्रकारलाई रोक
पोखरा । ‘समुन्नत महानगरका निम्ति समन्वयिक विकास र साझेदारी’ भन्ने नारासहित शुक्रबारदेखि पोखरामा प्रथम महानगर मेयर सम्मेलन २०७९ सुरु भएको छ । पोखरा महानगरपालिकाको आयोजनामा शनिबारसम्म चल्ने सम्मेलनमा देशका ६ मध्ये पाँच महानगरपालिकाका प्रमुख, पाँच उपप्रमुख र प्रमुख प्रशासकीय अघिकृतहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा आयोजक पोखरासँगै काठमाडाैं, ललितपुर, चितवन र विराटनगरका मेयर सहभागी भएका छन् । सम्मेलनमा सहभागी हुन पोखरा आएका वीरगन्जका मेयर पारिवारिक कामले शुक्रबार वीरगन्ज गएका छन् । उनी शनिबार पोखरा आउने बताइएको छ ।
सम्मेलनमा सहभागीहरूको अनुभव आदानप्रदानसँगै आफूले नेतृत्व गरेको महानगरको मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनाैतीहरू, महानगरका साझा सवाल तथा आगामी कार्यदिशालगायतका विषयमा छलफल हुनेछ भने विभिन्न विषयका विज्ञहरूले विभिन्न विषयमा सहजीकरणसमेत गर्नेछन् । महानगरस्तरबाट प्रवाह हुने सेवा, काम कारबाही तथा विकास निर्माणका कार्यहरूलाई थप सबल, थप सशक्त र थप गुणस्तरयुक्त बनाउँदै संघ सरकार र प्रदेश सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गरी महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु/गराउनु आजको आवश्यकता रहेको र त्यसलाई मध्यनजर गर्दै सम्मेलन आयोजना गरिएको पोखराका मेयर धनराज आचार्यले बताए । महानगरहरूलाई जनउत्तरदायी बनाउन लागि निर्वाह गर्नुपर्ने भूमिका तथा साझा सवालका विषयलाई सम्बाेधन गर्न यस वर्षदेखि आगामी पाँच वर्षसम्म प्रत्येक वर्ष ‘महानगर मेयर सम्मेलन’ गर्ने प्रस्तावअनुसार पहिलो सम्मेलन पोखरामा गर्न लागिएको आचार्यले बताए ।
सम्मेलनमा ‘संघीयता, महानगर र अबको बाटो’ विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल, ‘महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन’ विषयमा पूर्वाधारविज्ञ डा सूर्यराज आचार्य, सिकाइ आदानप्रदान सत्रको अजयचन्द्र लाल, ऐन कानुनको सम्बन्धमा मनोरमा अधिकारी र दामोदर गिरी, महानगरका साझा सवालका बारेमा कृष्ण ज्ञवाली, सरोज बस्नेतलगायतले सहजीकरण गर्ने भएका छन् ।
दुई दिनको छलफलपछि सम्मेलनले साझा अवधारणा तयार पारी ‘पोखरा घोषणापत्र’ जारी गर्ने मेयर आचार्यले बताए । अर्को वर्ष हुने सम्मेलनको आयोजक महानगरपालिका प्रमुखलाई पोखराका मेयर आचार्यले ‘महानगर मेयर सम्मेलन’ को लोगो अंकित झन्डा हस्तान्तरण गरेर सम्मेलन सम्पन्न हुने बताइएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर १८, सराङकोटस्थित एक होटेलमा सुरु भएको सम्मेलनमा पत्रकार प्रवेशमा रोक लगाइएको छ । कार्यक्रम सुरु हुनुअघि आयोजकले पोखराको लेकसाइडस्थित एक होटेलमा सम्मेलनमा सहभागी हुन आएका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्ने सामान्य कार्यक्रममा भने पत्रकारहरूलाई प्रवेश दिइएको थियो । लेकसाइडको होटेलमा भएको स्वागत कार्यक्रमपछि सहभागीहरू पोखरा सभागृहमा जारी लोकदोहोरी प्रतियोगितामा सहभागी भएर मेयरहरूको टोली सराङकोट पुगेको थियो ।
सम्मेलनमा सहभागी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले भोलिको काममा सहजता र सहयोग होस् भनेर अनुभव आदानप्रदान गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको बताइन् । सम्मेलनपछि महानगरपालिकाको छुट्टै संघ गठन गर्ने उनले बताइन् । ‘नगरपालिका संघ छ तर महानगरपालिको छुट्टै संघ छैन । छलफलपछि महानगर संघसमेत गठन हुन्छ, जसले दिगो रूपमा कार्यसम्पादनमा सहयोगसमेत गर्नेछ,’ उनले भनिन्, ‘अर्को वर्षको सम्मेलन भरतपुरमा गर्ने गरी आफूले प्रस्ताव राख्ने उनको भनाइ थियो । ‘०८० लाई भरतपुर भ्रमण वर्ष घोषणा भइसकेको छ । त्यसलाई सफल पार्न सम्मेलनले सहयोग पनि गर्नेछ,’ उनले भनिन् ।
त्यस्तै, ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सम्मेलनमा दोहोरिएका मेयरहरूले अनुभव सुनाउने र नयाँ मेयरहरूको कार्ययोजना र अनुभव सुन्ने बताए । ‘हाम्रो अनुभव सुनाउने, नयाँको कार्ययोजना र अनुभव सुन्नुका साथै सहजीकरणका लागि आउनुभएका विज्ञहरूको कुरा पनि सहभागीले सुन्छौँ,’ उनले भने, ‘सबैको कुरा सुनेपछि यसलाई आफ्नो कार्यक्षेत्रमा कसरी लागू गर्ने भन्नेमा छलफल पनि हुन्छ । जस्तै भरतपुरबाट मैले धेरै कुरा सिक्नुछ र भरतपुरले पनि सम्पदा संरक्षणको लागि ललितपुरबाट धेरै कुरा सिक्नुछ, यी र यस्तै कुरामा सम्मेलन केन्द्रित हुनेछ ।’