यम बुद्धको नाममा काठमाडौं महानगरले पार्क बनाउने, वडा अध्यक्षको बिरोध
काठमाडौं महानगरपालिकाले स्व. यम बुद्धको नाममा पार्क बनाउने भएको छ । त्यसका लागि महानगरले चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महानगरले यसअघि र्यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो । महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बन्ने बताए । ‘त्यहाँ सार्वजनिक जग्गा छ, महानगरभित्रको सार्वजनिक जग्गा संरक्षणको दायित्व महानगरको हो, त्यसैमा पार्क बन्नेछ,’ उनले भने । तर, पार्कमा यम बुद्धको सालिक भने नरहने उनले बताए । ‘पहिले सालिक बनाउने भनिएको हो, जनस्तरबाट विरोध भएपछि पार्क बनाउने निर्णय लिएका छौँ,’ अध्यक्ष मानन्धरले भने, ‘भोलि यो निर्णयको पनि विरोध भएछ, त्यहाँका जनताले मानेनन् भने फेरि सच्याउँला ।’
यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए । तर, स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब लिन मिल्ने कानुनी व्यवस्था नै नरहेको भन्दै आलोचना भएको थियो ।
काठमाडौं–२ का वडाध्यक्ष भन्छन् : यमबुद्धको नाममा पार्क बनाए द्वन्द्व हुन्छ
काठमाडौं महानगरपालिकाले र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउने निर्णय गरेदेखि नै मेयर बालेन्द्र शाहको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा चर्को विरोध भएपछि मेयर शाहले आफ्नै तलबमा सालिक बनाउने घोषणा गरे । लन्डनमा आत्महत्या गरेका र्यापर अधिकारीकै नाममा काठमाडौं महानगरपालिकाले ‘यमबुद्ध पार्क’ बनाउन बजेट विनियोजन गरिसकेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार विष्णुमती किनारमा रहेको ७ रोपनी सार्वजनिक जग्गामा पार्क बनाउन लागिएको हो । जसका लागि डेढ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ ।
आफ्नै तलबमा सालिक बनाउने शाहको घोषणापछि केही साम्य भएको आलोचना पार्क बनाउन बजेट विनियोजन भएपछि पुनः सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं २ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ यमबुद्धको नाममा काठमाडौंमा केही पनि बनाउन नपाइने बताउँछन् । ‘यमबुद्ध पार्क’ बनाउन महानगरपालिकाले डेढ करोड रुपैयाँ छुट्याएको छ,’ श्रेष्ठले भने, ‘यमबुद्धकै नाममा सालिक बनाउने कुरामा व्यापक विरोध भइरहेको बेलामा पार्क बनाउने कुरा झन् आपत्तिजनक छ । यमबुद्धको नाममा काठमाडौंमा केही पनि बनाउन पाइँदैन ।’
लागुपदार्थ खाएर आत्महत्या गर्नेबाट प्रेरणा लिन नसकिने बताउँदै महानगरपालिकाले गरेको यो निर्णयप्रति उनले असन्तुष्टि जनाएका छन् । ‘जापानमा एकमात्र नोबल पुरस्कार विजेताले आत्महत्या गर्दा कुनै सम्मानसमेत गरेन । नेपालमा भने ड्रग्स खाएर आत्महत्या गर्नेबाट हामीले लिने प्रेरणा के’, श्रेष्ठले नेपालखबरसँग भने, ‘यमबुद्धबाट प्रेरणा भएर पार्क बनाउने हो भने भोलि सबैले आत्महत्या सुरु गर्दैनन् ? मेरो पनि सालिक बन्ने हो कि भनेर ड्रग्स खुवाएर सबैलाई आत्महत्या गराउनका लागि प्रेरित पो गरिएको हो कि?’
श्रेष्ठको अनुसार महानगरपालिकाका बैठकमा पनि यो विषयमा कुरा उठाइएको थियो । ‘यदि त्यो पार्क बन्छ भने काठमाडौंमा बेकारको द्वन्द्व सुरु हुन्छ,’ बैठकमा मेयर शाहलाई जानकारी गराइएको विषय उद्धृत गर्दै श्रेष्ठले भने । उनले सत्यमोहन जोशी, माधव घिमिरे, तारादेवी, अरुणा लामालगायतको सालिक नबनाएर यमबुद्धको बनाउने कुरा कुनै तर्क नभएको जिकिर गरे ।
‘राख्ने नै भए पनि सत्यमोहन जोशी, माधव घिमिरे, तारादेवी, अरुणा लामाको राखौं न, यम बुद्धको किन बनाउने? राम्रो कुरालाई हामी समर्थन गर्छौं तर यसमा विरोध गर्छौं यो हुन हुँदैन,’ श्रेष्ठले भने ।