एसईई नतिजा आज आउने, ‘नन ग्रेडिङ’ हुने व्यवस्था हटाइयो

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । एसईई नतिजा सार्वजनिकअघि बुधबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो ।

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दु:ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको परीक्षा नियन्त्रक रायमाझीले बताए ।

यसपटक कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।

त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ ।

एसईईमा ३५ प्रतिशत अंक नल्याए ‘नन ग्रेडिङ’ हुने व्यवस्था हटाइयो

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम समयमा सैद्धान्तिक तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए ग्रेडसिटमा ‘नन ग्रेडिङ’ उल्लेख हुने व्यवस्था हटाएको छ । कोभिडका कारण विद्यार्थीले कक्षा ९ र १० मा राम्रो पठनपाठन गर्न नपाएको, पाठ्यक्रम पनि पूरा नभएको भन्दै बोर्डलाई लेटरग्रेडिङ निर्देशिका २०७८ लागू नगर्न दबाब परेको थियो । विशेष गरी निजी विद्यालय सञ्चालकले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई समेत भेटर दबाब दिएका थिए ।

नतिजा तयारीको क्रममा नतिजा अत्यन्तै खस्कने देखिएपछि अन्तिम समयमा नन ग्रेडिङ सम्बन्धित व्यवस्था हटाइएको स्रोतको दाबी छ । ‘नयाँ लेटर ग्रेडिङ निर्देशिका २०७६ सालमा स्वीकृत पाठ्यक्रमअनुसार लागू गर्ने भनिएको हो,’ बोर्डका एक सदस्यले भने, ‘यसपालि विद्यार्थीले पुरानै पाठ्यक्रमका आधारमा अध्ययन गरिरहेका छन्, त्यसैले लेटरग्रेडिङ पद्धति २०७२ कै आधारमा नतिजा प्रकाशन गर्न सकिने निर्णय भइसकेको छ ।’ २०७२ अनुसार नतिजा प्रकाशित गर्दा ३० देखि ४० अंक, २० देखि ३० र २० भन्दा कम अंक ल्याउने विद्यार्थीको पनि ग्रेडिङ हुन्छ ।

कक्षा १० मा शैक्षिकसत्र २०८० देखि मात्रै नयाँ पाठ्यक्रम लागू हुँदैछ । एउटै पाठ्यक्रमका आधारमा अध्ययन गरेका विद्यार्थीको दुईथरि मूल्यांकन हुने हुँदा यसपालि पुरानै पद्धतिमा नतिजा सार्वजनिक हुने उनले जनाए । यो वर्ष बोर्डले नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी गरेको थियो ।

लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैनन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइने व्यवस्था गरेको छ । पुरानो ग्रेडिङ पद्धतिका कारण विद्यार्थीमा स्वत: पास हुने भन्दै नपढ्ने प्रवृत्ति बढेको ठहर गर्दै नयाँ पद्धति लागू गर्ने निर्णय भएको थियो ।

त्यसमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको ग्रेडसिटमा ‘नन ग्रेडिङ (एनजी)’ उल्लेख हुने प्रावधान उल्लेख छ । यस्ता विद्यार्थीले उपल्लो कक्षामा पठनपाठन गर्न पाउने छैनन् भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुन: अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ ।

शिक्षामन्त्री पौडेल अध्यक्ष रहेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज गर्दै राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६७ अनुरुप नयाँ निर्देशिका लागू गर्ने निर्णय गत पुसमा गरेको थियो । तर केही दिनअघि फेरि बैठक बसेर २०७२ अनुसार नै यसपालिको नतिजा सार्वजनिक निर्णय भएको ती सदस्यले बताए । बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद यस बिषयमा प्रतिक्रिया दिन तयार भएनन् ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार दिउँसो नतिजा प्रकाशन गर्दैछ । दिउँसो १ बजे बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिनेछ ।